समाचार

सर्वसाधारणसँग जोडिएको काम, रोजगारी, स्वाभिमान र सम्मान बढाउने बजेट : अर्थमन्त्री खतिवडा



जेष्ठ १६, काठमाडौं । नेकपाका नेता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको काम, रोजगारी, स्वाभिमान र सम्मान बढाउने खालको बजेट बनाएका साथै बजेट अनुहार केन्द्रित बजेट भएको बताएका छन् ।

डा. खतिवडाले बुधबार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै आफुले पहिलोपटक संघीय सरकारको पहिलो बजेट ल्याएको बताएका छन् । संघीय सरकारको पहिलो बजेट भएपछि विगतका बजेटसँग पनि तुलना गर्न गाह्रो हुने बताउँदै उनले बजेट मार्फत अवसरको सृजना गरेको उल्लेख गरेका छन् ।

सरकारले बजेट मार्फत ८ प्रतिशतको महत्वाकांक्षी आर्थिक बृद्धिदरको लक्ष्य राखेको आरोप लागिरहेको बेला अर्थमन्त्री खतिवडाले कृषि, उद्योग र सेवा क्षेत्रको आर्थिक बृद्धिदर बढाएर ८ प्रतिशत पुर्याउने उल्लेख गरेका छन् ।