शैक्षिक

सरकार दुई तिहाइ बहुमतको भए पनि आर्थिक अनुशासनभित्र रहेर चल्छ : मन्त्री खतिवडा



जेष्ठ १८, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार दुई तिहाइ बहुमतको भए पनि आर्थिक अनुशासनभित्र रहेर चल्ने बताएका छन् ।

राष्ट्रियसभामा आव २०७५र७६ को आयव्ययको वार्षिक अनुमानमाथिको छलफलमा प्रश्नको जवाफ दिँदै उनले राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत र सजग रहेको बताएका छन् ।

अर्थमन्त्री डा खतिवडाले भने “प्रतिपक्षले भनेजस्तो यो बजेट न त बाइपंखी घोडा न त कछुवाको गतिमै कार्यान्वयन हुन्छ, हामी हाम्रै गतिमा हिड्छौ, कसैको उक्साहटमा लाग्दैनौँ, पहिलको भन्दा छिटो हिड्छौ ।”

बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्छौ, यसले आर्थिक समृद्धिका लागि ठूलो फड्को मार्ने र प्रतिपक्षले भनेजस्तो हावामा नभई खुट्टा जमीनमै टेकेको बताउँदै अर्थमन्त्री खतिवडाले भने “कुन मुलुक विश्वमा यस्तो छ, राज्यलाई प्रभावकारी भूमिकामा नराखी समाजवादी अर्थतन्त्र ल्याएको होस् । राज्य र निजी क्षेत्रको भूमिकालाई परिपूरक गरेर अघि लैजाने हो । आवतजावत गर्ने, सम्पत्ति कमाउने अधिकार सबै जनतालाई छ, कमाएको सम्पत्तिमा राज्यले कर लिने कुरा कसरी बेठीक हो ?”

अर्थमन्त्री डा खतिवडाले भने “लगानीको वातावरण बनाइन्छ, संस्थागत करका दरमा फरक पारेको छैन, वर्तमान सरकार निजी क्षेत्रलाई सम्मान गर्ने सरकार हो, सामाजिक सुरक्षाका स्वरुप र दायरा परिवर्तन हुँदैछ, बीमा र आवासका कुरा छन्, सामाजिक सुरक्षा भत्ता हामीले नै ल्याएका हौँ ।”