शैक्षिक

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गरिन्छः गृहमन्त्री थापा



जेष्ठ १८, ताप्लेजुङ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक समृद्धिको आधारनै भौतिक पूर्वाधारको विकास भएकाले सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धिका लागि कार्य गर्ने क्रममा कुनै पनि ठेकेदारले ढिलासुस्ती गरेकामा कारवाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार गृहमन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडाइका साथ कारबाही गर्ने तर्फसमेत सरकार केन्द्रित भएको उल्लेख गरे । उनले मुलुकका कुनै पनि भौतिक संरचनाको निर्माणमा संलग्न रहेर काम पूरा नगर्ने, बीचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबीन गरेपछि कारबाहीका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने बताए ।

प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सडक निर्माणमा भएको ढिलासुस्तीका बारेमा समेत चासो राख्दै उनले यस्तो बताएका हुन् । २०७२ को असारमा (कन्काई) कम्पनीले दुई वर्षभित्रै ग्राभेल गर्ने, नाली काट्ने कामसक्ने गरी सम्झौता गरे पनि हालसम्म काम पूरा नभएकोमा सञ्चारकर्मी लगायतले यस विषयमा मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।

एकवर्ष अघि करिब रु ६ करोडको लागतमा निर्माण भएको जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको मन्त्री थापाले उद्घाटन समेत गरेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले उत्तरी सीमा सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । ताप्लेजुङ दुबै छिमेकीमूलुक चीन र भारतसँग जोडिएकाले सीमा क्षेत्रको रेखदेख तथा सुरक्षा तथा पर्यटन प्रवद्र्धन, जलस्रोत तथा स्थानीय स्रोतसाधनको उपयोग लगायतका हिसाबले ताप्लेजुङ मुलुकै समृद्धिका लागि सम्पत्ति भएकाले यहाँको विकासमा चासो दिन उनले आग्रह गरे ।