राजनीति

कम्युनिस्ट सरकार कमिलाको प्वाख पलाए जस्तैः निधि



जेष्ठ २०, काठमाडौं । नेपाली काग्रेसका उपसभापति विमलेन्द्र निधिले मर्ने बेलामा कमिलाको प्वाख पलाउँछ, त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन भएको उल्लेख गरेका छन् ।

वन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आइतबार राजधानीमा उद्घाटन गर्दै कांग्रेस उपसभापति निधिले वर्तमान कम्युनिष्ट पार्टीको सरकारले संघियता, समावेशिता विरुद्ध सिण्डिकेट खडा गरेको बताएका छन् ।

निधिले विचारधाराको परिवर्तनसँगै कम्युनिस्ट शासन पनि पतनको दिशातिर उन्मुख भएको बताए । सरकारका १०० दिनको उपलब्धी हेर्दा आश गर्ने कुनै ठाउँ बाकी नरहेको उहाको भनाइ थियो । सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको भन्दै उनले भने, रक्सौल र कोराला नाकाबाट काठमाडौंमा रेल गुडाउने कुरा गरेर कम्युनिस्ट सरकारले भारत र चीनको चाकडी गर्नुबाहेक अरु केही काम नगरेको निधिले बताए ।