विश्व

ट्रम्पद्वारा दुई–राष्ट्र सिद्धान्तमा अमेरिका नरहेको घोषणा



काठमाण्डौ, ५ फागुन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानका लागि अमेरिकाले लिँदै आएको दुई–राष्ट्र नीति फिर्ता लिनुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटपछिको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्व समाधानका लागि ‘ग्रेट’ शान्ति सम्झौता गराउने दाबी गर्नुभयो ।

तर त्यसका लागि इजरायल र प्यालेस्टाइन दुवै पक्षले केही सम्झौता गर्नु पर्ने ट्रम्पको भनाई छ । इजरायल र प्यालेस्टाइनबिच सन् २०१४ देखि शान्ति वार्ता भएको छैन । इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा हुनुहुन्छ । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले इजरायली प्रधानमन्त्रीसँग विवादित क्षेत्रमा नयाँ घर बनाउने काम केही समयका लागि बन्द गर्न पनि आग्रह गर्नुभयो ।
गएको महिना ट्रम्प राष्ट्रपति बने लगतै इजरायलले वेष्ट ब्यांक र पूर्वी जेरुशेलममा हजारौंको संख्यामा नयाँ घर बनाउने प्रस्ताव पारित गरेको थियो । यो क्षेत्रमा इजरायल र प्यालेस्टाइन दुवैको दाबी रहँदै आएको छ ।
दुई–राष्ट्र सिद्धान्त के हो रु
इजारायल र प्यालेस्टाइनबिच दशकौंदेखि चलिरहेको संघर्ष समाधानका लागि दुवै पक्षका नेता र अन्तर्राष्ट्रिय समुदायले दुई–राष्ट्र सिद्धान्तलाई आफ्नो घोषित लक्ष बनाताएका थिए ।

यो सिद्धान्त अनुसार वेष्ट ब्यांक, गाजापट्टी र पूर्वी जेरुशेलममा सन् १९६७ को युद्धविराम रेखा भन्दा पहिलेको क्षेत्रमा एक स्वतन्त्र प्यालेस्टाइनी राष्ट्र बन्नु पर्छ । त्यस राष्ट्रले इजरायलसँग शान्तिसँग बस्नु पर्ने सिद्धान्तमा उल्लेख छ । संयुक्त राष्ट्रसंघ, अरब लिग, युरोपियन युनियन, रुस र अमेरिकाले यस विषयमा बारम्बार आफ्नो प्रतिबद्धता जनाउँदै आएका छन् ।

तर अहिले आएर अमेरिकी राष्ट्रपति ट्रम्पले यसबाट अलग हुने बताउनुभएको छ । ट्रम्पले आफू कुनै एकको पक्षमा रहन सक्ने बताउनुभयो । बाराक ओबामा प्रशासनका बेला अमेरिकासँग इजरायलको सम्बन्ध राम्रो थिएन । तर अब भने सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ ।