विश्व

ग्वाटेमालमा ज्वालामुखी विस्फोट : ७५ को मृत्यु



जेष्ठ २३, एजेन्सी । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ ।

यस प्रकोपको कारण अझै पनि करिब २०० व्यक्ति वेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन् । ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रमा तीव्र वेगमा तातो खरानी र लाभाबाट जोगाउन हजारौको सङ्ख्याका व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ ।

उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएका कैयौँ व्यक्तिले आफ्ना आफन्त हराइरहेको गुनासो गरेका छन् । विस्फोटमा करिब १०० भन्दाबढी घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ ।

आइतबार राति भएको यस प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । तीमध्ये करिब चार हजारलाई शरणार्थी शिविरमा सारिएको बताइएको छ । सेना र प्रहरीले उद्धारको काम जारी रहेको छ, उनीहरुको सहयोगमा ठूलो सङ्ख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको जनाइएको छ ।

ज्वालामुखीबाट ठूलो परिमाणमा भग्नावशेष र चट्टानसहितको लेदो बग्ने क्रम बुधबारसम्म पनि रोकिएको छैन । यस्तो भेल मानवस्वास्थ्यका लागि घातक हुनसक्ने जानकारी स्थानीय रेडियोहरुले दिइरहेका छन् ।