समाचार

बालश्रम दिवस : सकारात्मक पहलको सुरुवात, ५६ जना बालबालिकाको उद्धार



जेष्ठ २८, काठमाडौं) लक्ष्मी खतिवडा । ओ भाई पढनु पर्देन ? स्कुल नगएर किन बसमा खलासी गरिरहेको ? चक्रपथको रुटमा चल्ने बसको ढोका छेउमा आडेस लगाएर पैसा उठाउन व्यस्त साना भाइले ती महिलाका कुरा सुनेर पनि नसुने जस्तै गरे । एकैछिन पछि महिलाले फेरी भन्नुभयो– यीनीहरु स्कूल जानको गा¥होले खलासी गर्न आएका हुन् हामीलाई थाहा छैन र । बसमा बसैले सुन्नेगरि ती महिलाले सुनाएपछि साना भाइ निकै झोक्किए तर केही बोलेनन । महिलातिर हेर्दे अनुहार मलिनो पारे । मेरो बीरामी आमालाई औषधि तपाँइले किन्दिनुस न त । खलासी भाइले यति भनेपछि बसमा सबैले मुखामुख गरे कसैले पनि केही भन्ने आँट गरेनन । केही भन्नको लागि कसैसँग पनि उनले गरिरहेको कामको अन्य विकल्प थिएन । गरिबीकै कारण सानै उमेरमा उनलाई परिवार पाल्ने जिम्मेवारी आइलाग्यो र आयआर्जनको लागि उनी सडकसम्म आइपुगे । चक्रपथ रुटमा चल्ने ठूला बसहरुमा हामीले यस्ता साना बालबाकिालाई कन्डक्टरकोरुपमा हरेक दिन भेटने गथ्र्यौ । तर अब यस्ता साना बालबालिकालाई यस्तो काममा कसैले लगाएको भेट्यौं भने हामीले उजुरी गर्न सक्छौं । किनभने वैशाख ५ गतदेखि काठमाडौंको सार्वजनिक यातायातलाई बालश्रम मुक्त बनाउने नयाँ अभियानको सुरुवात भएको छ । श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत संघसस्थाले काठमाडौं उपत्यकामा सञ्चालित बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायतका सर्वाजनिक यातायातलाई बालश्रमरहित बनाउने अभियान निकै सफल भइरहेको छ । अहिलसम्म विभिन्न समयमा गरि ५६ जना बालबालिकाकोे उद्धार भएको छ ।

साना बालबालिकालाई सार्वजनिक यातायतामा काममा लगाउन नपाउने अभियानको सुरुवात भएपछि काठमाडौंका धेरै श्रमिक बालबालिकाले राहात पाएका छन् । अब साना बालबालिकाले यसरी जोखिमपूर्ण काम गर्न पाउने छैनन् । एक वर्ष अघिसम्म देशभरि बलाश्रम दिवस मनाइन्थ्यो भने साना बालबालिका जोखिमपूर्ण श्रममा दिनभरी काम गरिरहेका हुन्थे तर अब सरकारले सार्वजनिक यातायातमा बालश्रमलाई निशेध गर्न विभिन्न पहल सुरु गरिरहेको छ । जसबाट राजधानिमा दिनहुँ बस, माइक्रो तथा टेम्पोको ढोका ढक्ढक्याउने बालबालिकाले राहात पाएका छन् ।

ढोकामा झुण्डिएर बिहानदेखि बेलुकासम्म धुँवा र धुलो खाँदै घाँटी सुकुन्जेल कराउँदै हिडनुपर्ने दैनिकी भोगिरहेका बालबालिका अहिले विभिन्न संस्थाको संरक्षणमा छन् । काठमाडौं उपत्यकामा मात्रै बस, मिनिबस, माइक्रो, टेम्पो र ढुवानीका साधनमा ५ सय भन्दा धेरै बालबालिकाको प्रयोग भइरहेकोले अनुगमन निरन्तर रहने केन्द्रीय बालकल्याण समितिले जनाएको छ । समितिले उद्धार गरिएका बालबालिकालाई पारिवारसँग जान चाहानेलाई परिवारसँगै र संस्थामा बसेर पढन चाहानेलाई पनि उपयूक्त वातवारण उपलब्ध गराइएको जनाएको छ । सडक बालबालिका मुक्त बनाउने अभियान सफल भएपछि सरकारले सार्वजनिक यातायातलाई पनि बालबालिकामुक्त बनाउने अभियान सुरु गरेको हो । बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ मा १६ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई सार्वजनिक यातायात, परिवहन लगायतका निकृष्ट तथा जोखिमपूर्ण श्रममा लगाउन नपाइने स्पष्ट व्यवस्था छ भने ऐनअनुसार बालबालिकालाई श्रमिकका रूपमा काममा लगाएमा एक वर्षसम्म कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

केन्द्रीय बालकल्याण समितिले जानकारि दिएअनुसार यो अभियानमा केही समय श्रम कार्यालय र बाल कल्याण समितिले अनुगमन गर्ने र त्यसपछि ट्राफिक प्रहरीबाट दैनिक नियमित अनुगमन हुनेछ र कारवाहीको लागि पहल गरिनेछ । बालबालिका प्रयोग गर्ने यातायातका साधानलाई कारवाही गरिनेछ । अनुगमन गरिएका सार्वजनिक यातायातमा स्टीकर पनि टाँसिएको छ । साना बालबालिकाले कामदारकोरुपमा कुनै पनि सवारी साधनमा काम गरिरहेको भेटिएमा सहयोगका लागि बालबालिका खोजतलास समन्वय केन्द्रको टोल फ्री फोन नं १०४ वा बाल हेल्पलाइनको टोलफ्री फोन नं १०९८ मा तत्कालै खवर गरेर उद्धार गर्न पनि सकिनेछ ।

नेपालमा बालश्रम अन्त्यका लागि विभिन्न प्रयास गरिए पनि गरिबी र पारिवारिक विचलनकै कारण बालश्रमको जोखिम घट्न सकेको छैन । अझैपनि, राजधानिका सानातिना खाजा घर, रेष्टुरेन्ट तथा होटलहरुमा बालबालिका कार्यरत छन भने पाँच बजेपछिको फुटपाथको व्यापारमा अधिकांश बालबालिका नै संलग्न छन् । यो बाहेक अन्य श्रमका क्षेत्रहरुमा पनि बालबालिका कार्यरत छन् । बालबालिकाकोलागि शिक्षा, स्वास्थ्य र सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । परिवारले यो सबै जिम्मेवारी पूरा गर्न असमर्थ भएको अवस्थामा मात्र बालबालिका कामदारकोरुपमा सडकसम्म आइपुग्छन् । त्यसैले समग्रमा आर्थिक सशक्तिकरण पनि महत्वपूर्ण कुरा हो । कुनै पनि परिवारको आर्थिक हैसियत बलियो छ भने त्यो घरको बालबालिकाले ढुक्कसँग विद्यालय जाने अवसर पाउँछन तर शहरमा धेरै बालबालिकाले विद्यालय जाने मात्र नभई भूकम्प र अन्य प्राकृतिक विपत्तिले बालबालिको लागि झन धेरै चुनौती थपिदिएको छ । बालश्रम अन्त्यका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा बालश्रम घट्न नसकेको सरोकारवालाहरुको निश्र्कष छ । श्रमशक्ति सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका बालबालिकाको संख्या ७७ लाख ७० हजार छ । यी मध्ये ३१ लाख ४० हजार बालबालिका कुनै न कुनै रोजगारीमा संलग्न छन् भने १६ लाख बालिबालिका नियमित बालश्रमिककोरुपमा कार्यरत छन् ।

नेपालमा बालभरिया, सडकमा आश्रित बालबालिका, घरेलु श्रमिक, सार्वजनिक यातायत, इट्टा उद्योग र विभिन्नखाले क्षेत्रमा काम गर्ने बालबालिकालाई जोखिमयुक्त बालश्रम भनिएको छ ।

बालश्रम निवारणका लागि नेपालले महासन्धिमा हस्ताक्षर गरेको भए पनि बालश्रममा संलग्न बालबालिकाको जीवनमा खासै परिवर्तन आउन सकेको छैन् । सरकारले सन् २०२० सम्म निकृष्ट वा जोखिमयुक्त सबैखाले बालश्रमको अन्त्य गर्ने लक्ष्य राखेको छ । बालबालिकाको संलग्नता रहेको सबैखाले क्षेत्रबाट बालश्रमको अत्न्य भए मात्र सरकारको लक्ष्य तथा उद्येश्य पुरा हुने देखिन्छ । त्यसैले बालश्रममुक्त सहरको विकासको लागि सबै सरोकारवाला व्यक्ति तथा संस्थाको पनि महत्वपूर्ण भूमिका छ । बालश्रम बहुपक्षीय सरोकारको विषय भएकाले यसको अन्त्यको लागि पनि हामी सबैको सहकार्य झनै आवश्यक छ ।