समाचार

३३ किलो सुन प्रकरण : ६ शाखामा छापा, एक व्यापारी पक्राउ



असार ६, काठमाडौं । ३३ किलो सुन प्रकरणमा गृहमन्त्रालयको छानविन समितिले बाजेको सेकुवा कर्नरका ५ वटा शाखामा छापा मार्ने क्रममा अर्का एक जना व्यवसायी पक्राउ परेका छन् ।

टोलीद्वारा पक्राउ परेका भारतीय नागरिक बिमल पोद्दार रहेका छन् । उनी ४८ बर्षदेखि नेपाल बस्दै आएको छन् । पोद्दारले तस्करी गरी ल्याएको सुना सप्लाईको भूमिका खेल्ने गरेको खुल्न आएको छ ।

मन्त्रालयद्वारा गठित समितिले बुधबार अनामनगर, स्रोहखुट्टे, एयरपोर्ट, सामाखुसीसहित ६ शाखामा छापा मारी शिलबन्दी गरेको छ । समितिले छापा मारेका सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा लिँदै कारोबार रोक्का गरेको छ ।

समितिले यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ केजी सुन गायब प्रकरणको अनुसन्धानपछि जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यस्तै हाल नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द्र निरौला, एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनालसहित अन्य पुर्पक्षका लागि थुनामा छन् ।