शैक्षिक

अन्तराष्ट्रिय ख्याती प्राप्त नाम ‘पोखरा’ : पोखरा महानगरपालिका नामाकरण हुने



असार ७, पोखरा । प्रदेश नं. ४ को राजधानी पोखरा लेखनाथ महानरपालिकाको नामबाट लेखानाथ शब्द हटाई पोखरा महानगरपालिका बनाउने तयारी थालेको छ ।

महानगरपालिकाले असार १० गतेबाट शुरु हुने नगरसभामार्फत नाम हटाउने भएको हो । विश्व प्रख्यात नामको रुपमा रहेको पोखरा जसले नेपालको नाम विश्वस्तरमा चिनाएको छ । यसै सन्दर्भमा पोखरा लेखनाथ महानगरपालिका नाम लामो तथा छोटकारीमा भन्दा पनि ‘पोले’ नराम्रो सुनिने भएकाले राम्रो तथा प्रख्यात नामलाई नै नामाकरण गर्न अधिकाशंले सुझाव दिएपछि नगरसभामार्फत पारित गराउने तयारी तिव्र रुपमा अघि वढाएको छ ।

साविकको लेखनाथ नगरपालिकामा पर्ने २६ देखि ३३ वडा सम्मका वडाध्यक्षसमेत नाम पोखरा मात्रै राख्न सहमत भएका छन् । यसअघिको नगरसभामै नाम फेर्न अधिकांश सभा सदस्य सहमत थिए । तर मेयर मानबहादुर जिसीले अधिकांश नाम फेर्न सहमत भएर पनि निर्णय गर्न सकेका थिएनन् ।

यसअघिको नगरसभामा एमाले पार्टीले महानगरको नाम पोखरा मात्रै राख्न सिफारिस गरिसकेको थियो । पार्टीको सिफारिस र नगरसभामा बहुमतले नाम फेर्न प्रस्ताव गरे पनि मेयर हच्किएका थिए ।

कवि शिरोमणि लेखनाथ पौड्याल राष्ट्रले गौरव गर्ने साहित्यकार भएकाले कुनै राष्ट्रिय गौरवको पूर्वाधारलाई लेखनाथ नाम दिन लेखनाथ क्षेत्रका वासिन्दाको माग पनि छ ।