समाचार

फाल्गुनन्द गाउँपालिकाको विवाद उत्कर्षमा : जनप्रतिनिधि नै आन्दोलनमा



असार १३, पाँचथर । पूर्वी पहाडि जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्रलाई कोल्बुङ नसारिएको भन्दो जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रीएपछि विवाद उत्कर्षमा पुगेको छ ।

गत पुस १४ मा गाउँपालिका केन्द्रको टुंगो लगाउन भएको निर्वाचनमा कोल्बुङलाई केन्द्र बनाउन बहुमत प्राप्त भएको थियो । निर्वाचन भएको छ महिना बित्दा पनि नसारिएको भन्दै गाउँपालिकाका अधिकांश वडाका जनप्रतिनिधिहरू संघर्ष समिति नै निर्माण गरी आन्दोलित भएका हुन् ।

आन्दोलनरत जनप्रतिनिधि तथा सर्वसाधारण जनताले गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, उपाध्यक्ष देवित्राकुमारी आङदेम्बेसहित केही वडाका जनप्रतिनिधिहरूले केन्द्र नसार्न षड्यन्त्र गरिरहेको आरोप लगाए।

केन्द्र सार्ने विषयमा भएको हस्ताक्षरमा कार्यालयको लागि आवश्यक भवन निमार्ण नभएसम्मको लागि घुर्विसे पञ्चमीमा नै कार्यालय संचालन गर्ने र भवन तयार भईसकेपछि कोल्बुङमै केन्द्र सार्ने निर्णयमा गाउँपालिकाको सबै जनप्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन् । ३७ जनाले हस्ताक्षर गाउँपालिकाको केन्द्र सार्ने विषयमा हस्ताक्षर गरी सो सहमति भएको हो । आन्दोलनरत जनप्रतिनिधि तथा जनताले बहुमतको अबमूल्यन नगर्न पनि चेतावनी दिए ।

निर्वाचनबाट कोल्बुङकै पक्षमा सामान्य बहुमत प्राप्त भएकाले कोल्बुङमा केन्द्र सार्नु पर्ने वडा नम्बर २ का वडाध्यक्ष बहादुरसिं नेम्बाङले बताए । आन्दोलनरत जनप्रतिनिधिले तत्तकाल निर्णय कार्यान्वयन नगरे कानुनी उपचारको निम्ती अदालत जाने चेतावनी समेत दिएका छन् । गाउँपालिकाले घुर्बिसे पञ्चमीमा केही दिनअघि मात्रै पशु विकास कार्यालयको जग्गा खरिद गरेको छ । वडाध्यक्ष नेम्बाङले मालपोतमा रजिष्ट्रेसन बदर हुनु पर्ने माग समेत गरे ।

त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष मनबहादुर चेम्जोङले घुर्बिसे पञ्चमीमा करिब डेढ सय घर इलामतर्फ रहेको र ५० घर पनि पाँचथरतर्फ नरहेको भन्दै उनले व्यक्तिगत स्वार्थले घुर्बिसे पञ्चमीमा केन्द्र राख्न खोजिएको आरोप लगाए।

गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङले संघर्षरत पक्षलाई स्वार्थी समूहको संज्ञा दिएका छन्। उनले आफ्ना नजिक केन्द्र भए ठिक र टाढा भए बेठिक भन्ने प्रवृत्ति उपयुक्त नभएको बताए। ‘केन्द्रको टुंगो बहुसंख्यकले लगाउने हो, फेरि पूर्वाधार पनि चाहिन्छ,’ उनले भने, ‘स्वार्थी समूहले जहाँ भन्यो त्यहाँ हुँदैन।’