सम्पादकीय

शीतलनिवासमा पूर्वराजा यसकारण बने आकर्षण



काठमाडौं, ४ माघ । शीतलनिवासमा अघिल्लो दिनसम्म राष्ट्रपति विद्या भण्डारीकी छोरी र पूर्वसांसद् किरण यादवका छोराबीच हुने बिहेको चर्चा थियो तर सोमबार भने अधिकांश आगन्तुकको जिज्ञासा थियो  निम्ता मान्न पूर्वराजा शीतलनिवास आउलान् कि नआउलान् ?

राष्ट्रपति कार्यालयको कोसीहलमा विवाहित जोडीलाई बधाई र शुभकामना कार्यक्रम भइरहँदा सोमबार धेरैको चासो ढोकाबाहिरै थियो । धेरैजसो पाहुना तथा सहभागी एकआपसमा जिज्ञासा राख्थे, ‘पूर्वराजा कति बजे आउँछन् ? राष्ट्रपति कार्यालयका कर्मचारी पनि भन्दै थिए, ‘उहाँ आउने कार्यक्रम छ ।

लामो समय राष्ट्रप्रमुख भएका पूर्वराजा ज्ञानेन्द्र धेरैको उत्सुकतालाई चिर्दै सोमबार मध्याह्न साधारण निम्तालुसरह शीतलनिवास प्रवेश गरेर वरवधुलाई बधाई दिए । त्यसपछिका २० मिनेट पूर्वराजा नै त्यहाँका प्रमुख आकर्षण बनिरहे । उपस्थित धेरैले मोबाइलबाट उनको तस्बिर खिचे ।

मध्याह्न १२ बजेर ३५ मिनेट जाँदा राष्ट्रपति कार्यालय पुगेका पूर्वराजा गाडीबाट र्ओलिएर सीधै कोसीहल प्रवेश गरे । त्यसबेला राष्ट्रपति भण्डारी विवाहित जोडीसँगै बधाई र शुभकामना ग्रहण गर्न व्यस्त थिइन् । पूर्वराजाले वरबधुलाई बधाई र शुभकामना दिए । त्यसपछि भण्डारीसामुन्ने पुगे । दुवैले एकअर्कालाई नमस्कार गरे । ज्ञानेन्द्रले राष्ट्रपतिलाई पनि बधाई दिए । जबाफमा उनले ‘धन्यवादु भनिन् । यत्तिमै सकियो बधाई कार्यक्रम ! राष्ट्रपतिले पूर्वराजालाई दिवाभोजमा सरिक हुन हातले इसारा गरिन् ।

उनको सचिवालयका सहयोगीले दिवाभोजतर्फ लिएर गए । राष्ट्रपति कार्यालयको पछाडिपट्टिको बगैंचामा दिवाभोजको व्यवस्था थियो ।पूर्वराजा बगैंचातर्फ निस्कनासाथ एउटै टेबुलमा देखिए राप्रपा अध्यक्ष कमल थापा, उक्त पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र नेता लोकेन्द्रबहादुर चन्द ।

पूर्वराजालाई देख्नेबित्तिकै उनीहरू जुरुक्क उठे र एकसाथ नमस्कार गरे । पूर्वराजा हँसिलो मुद्रामा उनीहरूसँगै एउटै टेबुलमा बसे । अनि सुरु भयो भलाकुसारी । आगन्तुकका लागि सिट वर्गीकृत नगरिए पनि कुर्सी सजाइएको बरण्डा अति विशिष्ट र बगैँचामा राखिएका कुर्सीहरू आम आगन्तुकका लागि प्रयोग भइरहेका थिए ।

सायद पूर्वराजासँग टाढिनैका लागि अति विशिष्ट श्रेणीमा पर्ने भए पनि राजालाई दाम चढाएर आलोचित बन्दै आएका एमाले नेता माधवकुमार नेपालले बगैँचामै बस्न रुचाए । समारोहमा उपस्थित सिविल ड्रेसमा रहेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्ना पूर्व परमाधिपतिलाई ससम्मान स्यालुट चढाए ।

बसाइका क्रममा पूर्वराजाले एक कप चिया खाएका थिए । उनले भोजन भने गरेनन् । अन्त्यमा हँसिलो मुद्रामा उठेर सबैलाई नमस्कार गर्दै अगाडि बढेपछि नजिकैको कुर्सीमा रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीले उठेर प्रत्युत्तरमा नमस्कार गरिन् ।
शनिबार बेलुकामात्र राष्ट्रपतिको छोरीको बिहेमा निम्ता पाएका पूर्वराजाका तर्फबाट उनी बरबधुलाई आशिर्वाद दिन आउने सूचना आइतबार नै पठाइएको थियो । यद्यपि सर्वसाधारणमाझ आइतबारसम्म उनी शीतलनिवास आउलान् कि नआउलान् भन्ने अड्कलबाजी थियो भने सोमबार उनी पुगिसकेपछि भने सामाजिक सञ्जालमा त्यसबारे प्रसस्त राजनीतिक टिकाटिप्पणी देखिए ।

कसैले पूर्वराजा शीतलनिवास जानुलाई उनले गणतन्त्र नेपालको उच्चतम ओहदामा आसीन व्यक्तिको निवासमा पुगेर गणतन्त्रलाई स्वीकार गरेको बताए भने केहीले ज्ञानेन्द्रलाई निमन्त्रणा गरेर राष्ट्रपति भण्डारीले निषेध, बहिष्कार र प्रतिशोधको राजनीतिमा तघारो हाल्ने साहस गरेको अन्नपूर्ण पोष्टमा समाचार छ ।