सम्पादकीय

अब उपत्यकाका १३ ठाउँ मात्र विरोधस्थल, साउनदेखि कडाइका साथ लागू गरिने



काठमाण्डु १५ असार । सरकारले विरोध, प्रदर्शन र सभाका लागि उपत्यकाका १३ ठाउँ तोकेको छ । त्यसबाहेकका ठाउँमा हुने विरोध र प्रदर्शनमा सरकारले हस्तक्षेप गर्ने भएको छ ।
बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौंका सात, ललितपुरका पाँच र भक्तपुरको एक स्थानलाई सरकारले विरोध र प्रदर्शनस्थलका रूपमा तोकेको जानकारी दिए । ‘त्यसबाहेकका ठाउँमा जनजीवन अस्तव्यस्त हुनेगरी गरिने प्रदर्शन र सभामा सरकारले हस्तक्षेप गर्छ,’ उनले भने ।

काठमाडौंमा खुलामञ्च, तीनकुने चौर, भुइँखेल चौर, पेप्सीकोला खेल मैदान, सानो गौचरण, लैनचौर समाज कल्याण परिषद्अगाडिको चौर र सिफल चौरमा विरोध प्रदर्शन गर्न पाइनेछ । यस्तै, ललितपुरको च्यासल खेलमैदान, गोदावरी बसपार्कनजिकको खाली स्थान, भैंसेपाटीको छ्यासीकोटको खाली जग्गा, बज्रबाराही, लुभुको समुचौर, धोविघाटनजिकैको मलपोखरीको खुला ठाउँ तोकिएको छ भने भक्तपुरको सल्लाघारीबाहेकमा प्रदर्शन गर्न नपाइने मन्त्री थापाले बताए ।
‘१ साउनदेखि सबैतिर यो नियम लागू हुन्छ जहाँ पायो त्यहाँ प्रदर्शन गरेर जनताको अधिकार खोस्न पाइँदैन,’ थापाले थपे, ‘जसले त्यसो गर्छ त्यसलाई कानुनसम्मत कारबाही गरिनेछ ।’
उपत्यकाको सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखी सरकारले विरोध प्रदर्शनलगायतका गतिविधि गर्न स्थान तोकेको हो । यसअघि गत ३० चैतमा काठमाडौं जिल्ला सुरक्षा समितिको बैठकले प्रदर्शनका लागि स्थान तोकेको थियो ।
गृहमन्त्री थापाले ऐतिहासिक स्थलहरूमा विरोध प्रदर्शन गर्दा स्थानको ऐतिहासिकतामा समेत असर गर्ने भएकाले सरकारले त्यसका लागि निश्चित स्थान तोकेको जानकारी दिए ।
नागरिकको सुरक्षाका लागिसमेत सरकारले निषेधित क्षेत्र तोक्नुपरेको उनले जनाएका हुन् । ‘विरोधको आवाज निश्चित ठाउँबाट उठाउने हो, नागरिकको सुरक्षाका लागि पनि विरोधका लागि स्थान नै तोक्नुपर्ने अवस्था आयो,’ गृहमन्त्री थापाले भने ।राजधानीमा समाचार छ ।