अन्तर्वार्ता

अधिनायकवादको हौवा फैलाएर प्रतिपक्षले गर्ने आन्दोलनको सशक्त प्रतिकार हुन्छ



                                                      – संजीव रोकाहा, केन्द्रीय सदस्य, युवा संघ नेपाल

तपाईको संगठनले अहिले के के गर्दैछ ?

नेपालमा एक विशिष्ट परिवेशमा मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकता भए पश्चात अहिले हामी जनसंगठनहरको एकताको अन्तीम तयारीमा छौं । हाम्रो संगठनले सम्वृद्धी र सुशासनका लागी युवा परिचालन अभियान जेठ एक गते घोषणा गरेर शुरु गरेको छ । कृषीमा आत्मनिर्भरताका लागी खेतमा युवाहरुको अनिवार्य श्रमलाई जोड दिन विशेष अभियान मार्फत देशैभर खेत रोपाइको कार्यक्रम भर्खरै मात्र सकिएको छ । यी र अन्य थप अभियानमा सिंगो संगठन जोडिएको छ ।

नेपाली काँग्रेसले अधिनायकवादको विरुद्ध आन्दोलन घोषणा गरेको छ, तपाईले यसलाई कसरी हेर्नु भएको छ ?

नेपाली काँग्रेस पुरातन सोच बोकेका परिवर्तन लाई आत्मसाथ गर्न नसक्ने मानिसहरुको पार्टीको रुपमा नेपालमा लामो समय देखि रहेको छ । हिजो लोकतन्त्र स्थापना गर्न कम्युनिष्ट शक्ति र नेपाली काँग्रेसको सहकार्य भएको यथार्थ हो तर सहमतिको राजनीतिबाट भागेर सत्ताको फोहोरी खेलमा नेपाली काँग्रेस रमाएका कारण मुलुकले सोचे जस्तो प्रगती प्राप्त गर्न सकेन । आज यो वा त्यो नाममा आन्दोलन गरेर जनतालाई दुःख दिने र दैनिक जनजिवन अस्त व्यस्त बनाउने छुट कसैलाई छैन । यो देशमा विधि छ, कानुन छ, र सरकार छ । दैनिक मजदुरी गरेर बाँच्ने हजारौं मान्छे छन् । दैनिक जनजिवन अस्तव्यस्त गर्ने गरी गरिने आन्दोलन हामीलाई सह्य छैन । अधिनायकवाद के लाई भन्ने ? आफुलाई मनपरी गर्न नपाउने भए पश्चात सत्ताबाट सधैका लागी बाहिरिएकाहरुको चिच्याहटले अधिनायकवादका नाममा ग्राण्ड डिजाइन बनाएर आन्दोलनको डिजाइन तयार गरिएको छ । अधिनायकवादको हौवा फैलाएर गर्ने आन्दोलनको हामी सशक्त प्रतिवाद गर्छौ । आन्दोलनका नाममा जनतालाई दुःख दिने छुट अब कसैलाई छैन । आन्दोलनको रहर हुनेहरुले सरकारले तोकेको ठाउँमा तामझाम गरेर हुन्छ तर जनजीवनमा असर पु¥याउन पाइदैन ।

यो त अली कडा प्रतिक्रिया भएन र ?

हामीले जनतालाई समृद्धी र सुख दिनका लागी लामो आन्दोलन मार्फत लोकतन्त्र ल्याएका छौं । आज तिनै तहको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयनको बाटोमा छ । यदी फेरी पुरानै तवरबाट टायर बाल्ने, सडक जाम गर्ने हो भने यो लोकतान्त्रिक संविधान माथीको प्रहार हुनेछ । अबका बहस, छलफल यो देशमा कस्तो विकासको मोडल स्थापित गर्ने कसरी देशलाई विकसित मुलुक बनाउने यस विषयमा तर्क छलफल गर्न उपयुक्त हुन्छ । तर सत्ताबाट बाहिरिएको झ्वाकमा हारेको जुवाडेको पारा देखाएर अहिलेको विकास योजनालाई विफल तुल्याउन खोज्नेहरुले यो देशमा अस्थिरता निम्त्याउन खोजेको प्रष्ट छ । र हामी गलत कुराको सधै विरोधमात्र हैन प्रतिवाद गर्छौ । र सकारात्मक कार्यका लागी निरन्तर खबरदारी समेत गर्छौ ।

डा. के.सी. ले त यो सरकारलाई ठूलै चुनौती दिए त ?

डा. के.सी. आज मेडिकल शिक्षाका नाममा जसरी अनशन बसेका छन् यो उनको पहिलो पटक हैन । उनी केही एजेण्डा लिएर अनसन बस्छन् र फेरी सहमतीमा टुङग्याउछन् । एक त उनी नेपाल सरकारका जागीरे समेत हुन् । लोकतन्त्रमा फरक मत राख्न अनसन बस्न छुट छ । तर उनका माग पुराना मेडिकल कलेजलाई मात्र कायम राख्ने मेडिकल शिक्षा सिन्डीकेटको पक्षमा छ । बर्सेनी अरर्बौ रुपैया मेडिकल शिक्षाको नाममा बाहिरी रहेको छ । यहाँ गरिब परिवारका छोराछोरीलाई हरेक कलेजमा ५०% निशुल्क सिट निर्धारण गर्ने मुद्दा माग बन्दैन । आज अधिकांश मेडिकल कलेज कुन राजनैतिक दल आबद्ध व्यापारीका छन् ? कुरा स्पष्ट छ । नेपाली काँग्रेसले केही एजेण्डा नपाएर आज डा. के.सी.लाई प्रयोग गरेको छ । हिजो गगन थापाहरु मन्त्री हुँदा किन पुरा गरेनन् डा. के.सी. का माग ? आज डलरको खेती गरेर नेपाललाई इसाईकरण गर्न अभियान चलाउनेहरु, लोकतन्त्रको ठेकेदार भन्दै समाजलाई प्रगतीको बाटोमा जान राक्नेहरुका डा. के.सी. गोटी बनेका छन् । तत्काल डा. के.सी.ले अनसन तोडेर आफ्नो नियमित कार्यमा फर्कनु पर्छ । लोकतन्त्रलाई के.सी. तन्त्र संग साट्न सकिदैन ।

अन्त्यमा तपाईहरुका भावी योजना ?

आज यो देशको प्रमुख समस्या गरिबी, बेरोजगारी, भ्रष्टाचार र बेथिती हो । अधिकांश युवाहरु रोजगारको खोजीमा विदेशिएका छन् । हाम्रो संगठनका अध्यक्ष क. रमेश पौडेलले अबको आर्थिक रुपान्तरणका लागी युवाहरुको एक डेभलपमेन्ट फोर्स स्थापना गर्ने घोषणा गर्नु भएको छ । अब युवालाई हामी विकास प्रकृयासंग जोड्छौं । हिमाल, पहाड र तराईमा संचालन हुने रेल सेवामा हजारौं युवाले रोजगरा पाउनेछन् । सिपमुलक तालिम मार्फत हरेक युवालाई सक्षम बनाउनु पर्छ । सरकारले बजेट मार्फत धेरै राम्रा कार्यक्रमहरु युवा लक्षित बनाएर संचालन गर्दैछ । हामी आउटसोर्सिङ्ग मार्फत ठूलो धनराशी नेपाल भित्र्याउन आई.टी. का युवालाई विशेष हिसाबमा परिचालन गर्दैछौं । प्रविधिको उच्चतम प्रयोग गरी विकास कार्यक्रम एवम् सेवामुखी योजनाहरुलाई छिटो छरितो र भरपर्दो बनाउन जरुरी छ । आज सबै जनतालाई यो दिगो सरकारले हाम्रा सपना पुरा गर्छ भन्ने विश्वास पलाएको छ । हामी “समृद्ध नेपाल सुखी नेपाली” नारालाई व्यवहाररत पुरा गर्न एक भरपर्दो सारथी बन्नेछौं ।