समाचार

श्रावणको पहिलो सोमबार डोलेश्वरमा भक्तजनको भीड



साउन ७, भक्तपुर । श्रावणको पहिलो सोमबार आज केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लै भीड देखिएको छ ।

भगवान शिवको भब्य आराधना, तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । मेलामा काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका लागी लाईनमा पालो कुरिरहेका थिए ।

२०६६ साल भाद्र ६ गते केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको श्रावण महिनाभरी मन्दिरमा पूजा पाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।

यसैबीच केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनामा मन्दिर प्राङ्गणमा श्रावण १ गतेबाट ३७ दिने श्रावणी मेला सञ्चालन भईरहेको समितिका सचिव एवं प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले बताए ।

३७ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने भक्तजनहरुको सहजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको उनले बताए ।