समाचार

सरकार र डा. केसीको वार्ता असफल (डा. केसीको विज्ञप्तीसहित)



साउन ९, काठमाडौं । नेपाल सरकार र डा. गोविन्द केसीको वार्ता असफल भएको छ ।

सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै डा. केसीको वार्ता टोलीले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।

चिकित्सा शिक्षा विधेयकमा डा। केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो । स्रोतका अनुसार नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई मध्यस्थकर्ताको भूमिका खेल्न आग्रह गरेको थियो, जसले सम्वादहीनता अन्त्य गर्न पहल गरेका थिए ।

डा. केसीको वार्ताटोलीका तर्फवाट सरकारी पक्ष गैरजिम्मेवार बनेको र विधेयकसम्बन्धी दफागत छलफलमा प्रवेश नै गर्न नचाहेको केसीको वार्ता टोलीका संयोजक डा। अभिषेकराज सिंहले बताएका छन् ।

डा. केसीको वार्ता टोलीले सरकारलाई उपलब्ध गराएको सूचीअनुसार सुधारसहित विधेयक पारित गर्ने प्रतिवद्धता आए मात्र अर्को वार्ता गर्ने बताएको छ ।

नेम्वाङको पहलमा केदारभक्त माथेमा लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । वियेधकमा केके संशोधन गर्ने छलफल गर्नुको साटो प्रधानमन्त्रीले चिकित्सा शिक्षाबारे आफ्ना धारणा राखेपछि ‘डा। केसीलाई सम्झाइदिनुस्, बाँकी संसदमा हरौंला’ भनेर पठाएको स्रोतले बताएको छ ।

प्रेस विज्ञप्ति

डा. गोविन्द केसी १५ औं सत्याग्रहको २६ औं दिनमा रहनुभएको यहाँहरुलाई विदितै छ । यसबीच सरकार तथा डा केसी दुवैका तर्फबाट वार्ता टोली गठन भएर विभिन्न चरणमा वार्ता समेत भइसकेको छ । अध्यादेश बमोजिमको चिकित्सा शिक्षा ऐन आउनुपर्ने डा केसीको मागको सन्दर्भमा यस अगाडि सरकारले तोडमोड गरेर संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने डा केसीको अडान रहेको थियो । तर वार्ताको क्रममा हदैसम्म लचकता अपनाउँदै डा केसीका तर्फबाट विधेयक फिर्तीको माग थाँती राख्दै विधेयकका प्रावधानहरुमा सुधार गरी सहमति जुटाउनका लागि सरकार पक्षसँग विभिन्न चरणका अनौपचारिक र औपचारिक छलफलमा सहभागी भएका थियौं ।

तर आज २६औं दिनमा डा केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको हुनाले यही अलमलका कारण डा। केसीको स्वास्थ्यमा अपूरणीय क्षति पुग्ने अवस्था आइसकेको छ । यो अवस्थामा थप अलमल गरेर डा। केसीको स्वास्थ्यलाई झनै जोखिममा पार्न हामी तयार छैनौं ।

त्यसैले यस्तो संवेदनशील समयमा आएर छलकपटपुर्वक सत्याग्रही डा। केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने सरकारको रवैयाको कडा विरोध गर्दर्छौं । साथै हामीले सरकारलाई उपलब्ध गराएको सुचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउँछौं ।

डा अभिषेक राज सिंह
संयोजक
डा गोविन्द केसी वार्ता टोलीको संयोजक