सम्पादकीय

सरकारी कर्मचारीकै मिलेमतोमा सिंगो बस्ती व्यक्तिलाई नामसारी



रौतहट, ४ माघ । सरकारी कर्मचारी र भूमाफिया मिलेर सिंगै बस्ती रहेको करिब ४ बिघा जग्गा व्यक्तिका नाममा नामसारी गराएका छन् । वर्षौंदेखि उपभोग गरिरहेको घरघडेरी खाली गर्नुपर्‍यो भन्दै अपरिचित व्यक्तिले दिनहुँ धम्क्याउन थालेपछि सिंगै गाउँ त्रस्त छ।

भूमाफियाले नक्कली कागजात बनाई लक्ष्मिनिया–२, विजयपुरको जग्गा अर्कैको नाममा नामसारी गरेका हुन् जसमा एउटा बस्ती नै छ ।

विजयपुरको कित्ता नम्बर १०८ र २४६ को १ बिघा ९ कठा १३ धुर जग्गा भूमाफियाले कर्मचारीसँग मिलेमतोमा नवलकिशोर राय यादवको नाममा पास गराएका हुन् । बस्तीसहितको २ बिघा ८ कट्ठा जग्गा भने जिल्ला प्रशासनले तत्कालका लागि रोक्का गरेको छ ।

उता, दिनहुँ बस्तीसहितको सिंगो गाउँ खाली गर्न, नत्र डोजर लगाएर भत्काउने धम्की आउन थालेपछि स्थानीय गुहार माग्न जिल्ला प्रशासन कार्यालय रौतहट पुगेका छन् ।

२०३६ सालमा जिल्लाकै फतुवा–हर्षाहा गाउँका ८७ घरधुरी बाढीपीडितलाई तत्कालीन जिल्ला पञ्चायतले विजयपुरमा बसाएको थियो । भारत, कोलकाताका जयन्तकृष्ण मैत्रका नाममा रहेको हदबन्दीभन्दा बढी जग्गा राष्ट्रियकरण गरी तत्कालीन सरकारले बाढीपीडितलाई उपलब्ध गराएको थियो ।

बाढीपीडितलाई सधैंका लागि पुनर्वास गरिए पनि भूमाफियाको चलखेलमा आफ्नो बिचल्ली भएको स्थानीयले बताए । मैत्रका नाममा नक्कली वारेस खडा गरेर उक्त जग्गा बिक्री गरेको पत्ता लागेको छ। पढाउने काम गर्न नेपाल आएका मैत्रले विभिन्न ठाउँमा २८ बिघाभन्दा बढी जग्गा आफ्नो नाममा जोडेका थिए ।

मैत्रले पर्सा जिल्लाबाट लिएको नेपाली नागरिकताको प्रमाणपत्रसमेत नक्कली रहेको पाइएको छ। मैत्रका नाममा पर्सा जिल्लाबाट जारी रहेको भनिएको प्रमाणपत्र नम्बर १६०३०३३१४ को नागरिकता दुर्गाकुमारी ठकुरीका नाममा रहेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।

मैत्रका पिताको नाम गोपालकृष्ण मैत्र तथा वीरगन्ज–५ पर्सा लेखिएको ठेगानासमेत नक्कली भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ । मैत्रको नक्कली नागरिकताका आधारमा अदालतबाट नक्कली वारेसनामा बनाई भूमाफियाले गाविस, नापी कार्यालयको नक्कली छाप र लेटरप्याड प्रयोग गरेको देखिएको छ ।

मैत्रका नाममा रहेको जग्गाको किर्ते कागजको आधारमा भूमाफियाले नक्कली वारेसनामा खडा गरेका छन् । काठमाडौं जिल्ला अदालतको अधिकृत वारेसनामाका आधारमा सिंगो बस्ती फतुवा हर्षाहा–४ का नवलकिशोर राय यादवका नाममा पास गरेको खुलेको नागरिक दैनिकमा समाचार छ ।