समाचार

डा. केसी: चिकित्सा शिक्षा विधेयक तोडमोड भए १६ औं अनसन



साउन २६, काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीसँगको भेटमा चिकित्सा शिक्षा विधयक तोडमोड भएमा आफु १६ औं अनसन वस्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीलाई भेट्न डा. केसी आफ्नो वार्ता टोलीसहित बालुवाटार पुगेका थिए । भेटमा चिकित्सा शिक्षाबारे छलफल भएको छ । भेटका क्रममा डा। केसीले विधेयक सम्बन्धी आफूसँग भएको सम्झौता अनुसार नै विधेयक पास हुनु पर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सहमतिअनुसार संशोधन दर्ता भएको भन्दै सहमति कार्यान्वयनका लागि डा. केसी समेत संलग्न भएको कमिटी बनाउने प्रस्ताव गरेका छन् । ओलीको उक्त प्रस्तावमा डा. केसीले आफू नबस्ने र आफ्नो प्रतिनिधि राख्न आग्रह गरे ।

प्रधानमन्त्रीले बोलाएपछि बिहान डाक्टर केसीसहित अधिवक्ता सुरेन्द्र भण्डारी, ओम प्रकास अर्याल, अभिषेकराज सिंह लगायतको टोली वालुवाटार पुगेको थियो ।