राजनीति

सांसद पहारीको उद्घोष : फेवाताल अतिक्रमण गरी बनाइएको सवै संरचना भत्काउनुपर्छ



भदौ १, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले फेवाताल क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका सवै संरचनाहरु तत्काल भत्काउनु पर्ने उद्घोष गरेका छन् ।

बिहीबार गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै सांसद पहारीले फेवातालको जग्गा मिचेर बनाईएको कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टलाई सुरुमै भत्काउनु पर्ने बताएका छन् । फेवाताल संरक्षण गर्न सके गण्डकी प्रदेशको मात्र नभई देशकै आर्थिक उन्नतीको मुख्य आधार हुने जसवाट वार्षीक हजारौं पर्यटकहरु भित्र्याउन सकिने वताउँदै सांसद पहारीले फेवातालको क्षेत्रफल अतिक्रमण गरेर बनाईएको शाक्यको रिर्सोटसँगै अतिक्रमण गर्ने सबै संरचना भत्काएर फेवाताललाई संरक्षण गर्नुपर्ने बताएका हुन् ।

आफु पोखरावाट निर्वाचित हुनुपूर्वदेखि नै फेवातालको संरक्षणलाई पहिलो प्राथमिकता दिदै आएका सांसद पहारीले भने, ‘फेवातालको जग्गा अतिक्रमण गर्ने अधिकार कसैलाई छैन्, चाहे त्यो कर्ण शाक्यको रिसोर्ट होस वा अरु कसैको, सबैलाई समानरुपमा कारवाही गरिनुपर्छ ।’

आफ्नो विजय पश्चात पटक पटक फेवातालको संरक्षणका निम्ती आफ्नो अमुल्य समय खर्चिएका सांसद पहारीले संरक्षणको निम्ती तथा वातावरण स्वच्छ र सुन्दर बनाउनका निम्ती आफुले पाउने दुई महिनाको पारिश्रमिक समेत हस्तान्तरण गरी जनमुखी कार्यलाई निरन्तरता दिइरहेका छन् ।

त्यस्तै सांसद पहारीले स्थानीय तह र प्रदेश सरकारले लगाएको करको विषयमा जानकारी गराउन आग्रह गर्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकाले नक्सापासको शुल्क ३१ हजार रुपैयाँ लिएको विषय सदनमा जानकारी गराउँदै उनले सबै तह र प्रदेशले एकद्वार प्रणालीबाट कर लगाईनुपर्ने धारणा प्रस्तुत गरेका छन् ।