भदौं १, काठमााडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले जनभावना अनुसार काम नगर्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई वर्खास्त गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सव कार्यक्रमलाई काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पुनले प्राधिकरणका कर्मचारीहरुले नागरिकको आवाज नसुनेको गुनासो आफूसँग आएको उल्लेख गर्दै त्यस्ता कर्मचारीलाई पदबाट हटाउन सकिने बताएका हुन् । त्यस्तै नागरिकको काममा निरन्तर खटिने कर्मचारीलाई सम्मान गर्ने बताउँदै मन्त्री पुनले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी कामलाई अघि बढाउन पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
निजी क्षेत्रसँग प्रतिस्पर्धा नगरे प्राधिकरणको औंचित्य नहुने भन्दै मन्त्री पुनले प्राधिकरणको नियमनका लागि विद्युत नियमन आयोग गठन गर्ने बताए । उनले आयोग गठन गर्नका लागि सरकारले त्यसको ऐन र नियमावली बनाउने कामलाई सम्पन्न गरिसकेको बताए ।
कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षिक प्रगति विवरण पेश गर्दै यसको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाउनु प्राधिकरणको मुख्य चुनौती रहेको बताए । प्रवन्धक घिसिङले प्राधिकरणले यस वर्ष १ अरव १ करोड कुल मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराएका छन् ।










प्रतिक्रिया दिनुहोस्