समाचार

नेपाल प्रहरी श्रीमती सङ्घको ३४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न



भदौ ५, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा नेपाल प्रहरी श्रीमती सङ्घको ३४औं वार्षिकोत्सवको कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा भाद्र ४ गते सोमबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती सङ्घको ३४औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न संघसंस्था तथा महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्दै सङ्घबाट प्रकाशित बार्षिक स्मारिका “सहचरी” को विमोचन समेत गरेका थिए ।

नितान्त सेवाभावले स्थापित सङ्घले समाजसेवामा योगदान दिँदै आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले त्यस्ता कार्यले नेपाल प्रहरीको पेशागत गौरव बढाएको बताउदै स्थापनाकालदेखिनै पूर्व अध्यक्ष एवम् पदाधिकारीहरुले सङ्घको कार्यमा पुर्याएको योगदानको चर्चा गर्दै उनले त्याग, तपस्या तथा समर्पणभावले निस्वार्थ रुपमा राष्ट्र र नागरिकको सेवामा सङ्घले पुर्यापएको उल्लेखनीय योगदानको प्रशंसा समेत गरेका थिए ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती प्रमिला खनालले २०७४ सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रहरी विद्यालयका छात्रछात्राहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै सङ्घकी अध्यक्ष श्रीमती खनालले सङ्घले आफनो क्रियाशिलता र कार्यक्रमलाई समय र लक्षित वर्गको माग अनुसार परिमार्जन गर्नुपर्ने बताइन । सङ्घले आफ्नो सामर्थ्य नयाँ ढंगले विस्तारित गर्दै आगामी दिनमा अझ बढी मानव सेवामा केन्द्रीत र विस्तारित सेवा प्रदान गर्ने उनले उल्लेख गरिन ।

उक्त अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा पूर्व अध्यक्ष एवम् पूर्व पदाधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, प्रहरी विद्यालयका शिक्षक तथा बिद्यार्थी एवम् आमन्त्रित अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।