भदौ १०, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुर घटनाबारे नागरिक आक्रोशित हुनु स्वभाविक भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलको अभिव्यक्तिको कडा रुपमा आलोचना गरेको छ ।
शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गम्भीर छानवीन नगरी अविस्वश्नीय निष्कर्षमा पुग्दा नागरिक आक्रोशित हुनु स्वभाविक भएको बताएको छ । सरकार शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको बताएको भन्दै सत्तारुढ दलकै नेताको गैरजिम्मेवार अभिव्यक्तिका कारण शान्त भइसकेको कञ्चनपुरमा तनाव उत्पन्न भएको र प्रहरीको गोलीबाट सन्नी खुनाको ज्यान जाने परिस्थिति बनेको समेत बताएको छ ।
बैठकमा नेता दिलेन्द्र बडूले सत्तारूढ दलकै एक नेताका भड्काउयुक्त अभिव्यक्तिका कारण शान्त भइसकेको कञ्चनपुरमा तनाव उत्पन्न भएको बताएका थिए । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने रावलको नाम नै लिएर उनको अभिव्यक्तिका कारण तनाव उत्पन्न भएको र एक बालकको ज्यान जाने परिस्थिति बनेको बताए ।
कांग्रेसले कञ्चनपुर घटनाको गहन छानीवन गरी अपराधीमाथि कारबाही गर्न र पीडित परिवारलाई राहत दिन माग गरेको छ । साथै घटनाको यस्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्यद्वय दिलेन्द्रप्रसाद बडू र बीरबहादुर बलायरलाई खटाएको छ । बडू र बलायर भोलि नै कञ्चनपुर पुग्ने कांग्रेसले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्