भदौ ११, काटमाडौं । बर्षभरी मृत्यु भएका प्रियजनको स्मरणमा विशेषतः नेवार समूदायले यो पर्व विभिन्न कार्यक्रमहरु गरी मनाइरहेको छ ।
आजबाट सांस्कृतिक पर्व गाईजात्रा सुरु भएको छ । काठमाडौं उपत्यकाका तीन वटा जिल्लाका नेवार समूदाय बाहुल्य क्षेत्रमा यो पर्व मनाइन्छ । गाई जात्राको दिनदिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना नगर परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसो गरेमा दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास छ । नगर परिक्रमा गर्नाले मृत्यु भएकाहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि रहीआएको छ । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई शान्त्वना दिन राजा प्रताप मल्लले सबैले यस्तै शोक बेहोरेका छन् भन्ने देखाउन जनतालाई आ–आफ्ना परिवारमा मृत्यु भएका व्यक्तिका संझनामा गाईजात्रा निकाली सहर परिक्रमा गराउन भनी आदेश दिएकाले त्यसैबेलादेखि यो पर्व मनाउन थालिएको इतिहासमा उल्लेख छ ।
उपत्यकामा हनुमानढोका, भक्तपुर र पाटन दरबार आसपास गाईजात्रामा सहभागीलाई परिक्रमा गराइन्छ । यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृतकको सम्झनामा रामायणको करुण रस गीत पनि गाइन्छन् ।
राजनीतिक तथा प्रशासनिक क्षेत्रका विकृति र विसङ्गतिलाई व्यङ्ग्य गर्ने उत्सवका रुपमा पनि गाईजात्रालाई हास्य कलाकारले उपयोग गर्दै आएका छन् । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, इलाम, धरान, विराटनगर, हेटौँडा, पोखरा र पाल्पाल गायतका जिल्लाहरुमा समेत मनाईन्छ ।










प्रतिक्रिया दिनुहोस्