राजनीति

केही ठूला मिडियाले आफ्नो प्रभुत्व जमाउन सामन्ती सोचका साथ अघि वढे : सांसद वस्नेत



भदौ १२, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले नेपालमा केही नाम चलेका ठूला भनौदा मिडियाहरुले आफ्नो प्रभुत्व जमाउँदै सामन्ती सोचका साथ अघि वढेको बताएका छन् ।

भक्तपुरबाट प्रकाशित हुदै आएको डोलेश्वर दैनिकको प्रथम वार्षिकोत्सव एवं ईडोलेश्वर डट कम अनलाईन संस्करणको आज शुभारम्भ कार्यक्रममा वोल्दै सांसद वस्नेतले केही ठूला मिडियाहरु वदनियत पूर्वक चल्ने गरेको बताएका छन् । उनले ठूला लगानीका मिडिया साना मिडियालाई किच्ने र आफ्नो राष्ट्रिय रुपमा प्रभुत्व जमाउन खोज्ने सामन्ती मिडिया भएको दावि गरेका छन् ।

गल्ति नगर्ने पत्रकारले सरकारद्धारा जारी नयाँ देवानी तथा फौजदारी संहिताबाट डराउँनु नपर्ने बताउँदै सांसद वस्नेतले लोकतन्त्रलाई अराजकतन्त्र रुपमा लैजान नहुने बताउँदै उनले प्रेसलाई संकुचित बनाउँने गरि संहिता आएको हो भने त्यसलाई संशोधन गरेर जान संसदमा आवाज उठाउँन आफू तयार रहेको बताए ।

कार्यक्रममा वोल्दै सांसद वस्नेतले प्रभुत्व जमाउन खोज्ने केही मिडियाहरु कुनै राजनैतिक दलको भरमा समाचार सम्प्रेसण गर्ने गरेको जसमा राम्रो कामलाई पनि राम्रो भन्न नसक्ने गरेको बताएका छन् । सत्यतालाई कसैले लुकाउन नकस्ने भन्दै सांसद वस्नेतले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह समेत गरेका छन् ।

हल्लाको भरमा समाचार सम्प्रेषण गर्नु नहुने भन्दै सांसद वस्नेतले वास्तविकतालाई लुकाउनु नहुने वताएका छन् । नाम चलेका केही मिडियाले राजनैतिक छाता ओडी स्थानीय सरकार, प्रदेश सरकार तथा संघिय सरकारलाई असफल वनाउने प्रयासमा लागेको समेत वताएका छन् । उनले विकास र देशको प्रगतिका लागि वर्तमान मिडियाहरुले मुख्य प्राथमिकता दिनुपर्ने समेत बताएका छन् ।

कार्यक्रममा ३ नं. प्रदेशका प्रदेश सदस्य शशीजंग थापा, नेपाल कम्युनिष्ट पार्टी भक्तपुरका अध्यक्ष बचन देउजा, नेपाली काँग्रेस भक्तपुरका अध्यक्ष दूर्लभ थापा, प्रेस काउन्सिलका सदस्य गाविन्द चौलागाई, नेपाल पत्रकार महासंघ केन्द्रका महासचिब रमेश बिष्ट, प्रेस चौतारीका केन्द्रीय सदस्य सोम शर्मा (बजगाई), कलाकार जीतु नेपाल, डोलेश्वर दैनिकका व्यबस्थापक जनक गिरी, प्रकाशक/ सम्पादक पेशल आचार्य लगायतले निष्पक्ष र विभेद रहित समाचारका रुपमा संचार माध्यम अगाडि बढ्नु पर्नेमा जोड दिए ।