राजनीति

ऐन संशोधन गर्न माग गर्दै पत्रकारले बुझायो ज्ञापनपत्र



भदौ २०, भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले भदौ १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ लाई तत्काल संशोधन गर्ने सरकारलाई  बुधबार ज्ञापन पत्र बुझाएका  छन ।

नेपाल सरकार र मन्त्रीपरिषद् कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधान अनुसार सञ्चार माध्यममा प्रकाशित-प्रसारित सामग्रीकै आधारमा संचारकर्मीमाथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएको भन्दै संशोधन गर्न माग गरेका छन ।

उनले ऐनका कुनै पनि दफामा सञ्चार माध्यममा प्रवाह भएका सामग्रीका सन्दर्भमा यो ऐनका प्रावधानहरु लागू हुँदैन भन्ने व्यवस्था नरहेको र सञ्चार माध्यमसम्बन्धी छुट्टै ऐनहरुमा समेत यस विषयमा कुनै प्रावधानहरु नै नराखिएकाले यो ऐनबाट सञ्चार माध्यम र पत्रकारहरु पीडित बन्न सक्ने अवस्था देखिएको ठहर गरेका  छन । साथै उनले ऐनका केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्न समस्या पार्नुका साथै तस्विर खिच्न र प्रकाशन तथा प्रसारण गर्न बाधा हुन सक्ने भएकाले संशोधनमा माग गरिएको उनले  बताएका छन ।