भदौ २२, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपश्चात हत्याको घटनामा प्रहरीको लापर्वाही देखिएको उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले बताएका छन ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उच्चस्तरीय छानबिन समितिले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको पाटोलाई छोडेर लापर्वाही गरेको देखिएको बताएको हो ।
उनले निर्मलाको बलात्कारपश्चात हत्याको घटनालाई लिएर कञ्चनपुरमा भएको आन्दोलन बिना कारण नभएको भन्दै यसमा कतै न कतै प्रहरीको दोष भएको बताएका छन ।
‘प्रहरीले अनुसन्धानलाई जुन तरिकाले गर्नुपथ्र्यो त्यस्तो गरेको देखिँदैन’, मैनालीले भने , ‘शंकास्पद पाटोलाई बेवास्ता गरेकाले नै घटनाले गम्भीर रुप लिएको हो ।’
गृहमन्त्रालयले निर्मलाको बलात्कार र हत्याको घटनामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धानका लागि गृहका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी भदौ ८ गते कञ्चनपुर पठाएको थियो ।
टोलीलाई प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पार्न १५ दिनको समय दिइएको थियो ।
निर्मला हत्या प्रकरणको घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धान गर्न कञ्चनपुर पुगेको उच्चस्तरीय छानबिन समिति शुक्रबार काठमाडौं फर्किँदैछ । टोलीले घटनाको छानबिन तथा थप अनुसन्धान गरिसकेकाले ३ – ४ दिनभित्र प्रतिवेदन तयार पारेर गृहमन्त्रालयमा बुझाउने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्