समाचार

भारतको एकाधिकार तोडियो : नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने



भदौ २३, काठमाडौं । नेपालले चीनका ७ वटा बन्दरगाहमार्फत तेस्रो मुलुकसम्म वस्तु आयात-निर्यात गर्न पाउने भएसँगै भारतको एकाधिकार तोडिएको छ ।

नेपालले वैदेशिक ब्यापारमा चीनतर्फका ठूला बन्दरगहा पनि प्रयोग गर्न पाउने सुनिश्चित भएको छ । दुई देशबीचको यातायात तथा परावहान सम्झौताको प्रोटोकलमा चीनले आफ्ना ४ वटा सामुन्द्रिक र ३ वटा सुख्खा बन्दरगाह प्रयोग गर्न दिन सहमति जनाएको छ । हाल नेपालले भारतको कोलकाता र विशाखापटनमको मात्रै बन्दरगाह प्रयोग गर्दै अन्तर्राष्ट्रिय ब्यापार गर्दै आएको छ ।

भविष्यमा नेपालले चीनका सबै बन्दरगाह उपयोग गर्न पाउने भनिए पनि तत्काललाई भने तियान्जेन, सेनजेन, लियानयुंगाङ्ग र झाङ्गजियाङ्ग गरी ४ वटा सामुन्द्रीक बन्दरगाह प्रयोग गर्न पाउनेछ । त्यस्तै नेपालले लान्जाओ, ल्हासा र सिगात्से गरी तीन वटा सुख्खा बन्दरगाह पनि प्रयोग गर्न सक्ने प्रोटोकलमा उल्लेख छ । हालसम्म चीनसँगको तातोपानी र रसुवागढी नााका अन्तर्राष्ट्रिय नाकाका रुपमा छन् । अब नेपालले किमाथाङ्का, नेचुङ्ग, यारी र ओलाङ्गचुङ्गोलाबाट अन्तर्राष्ट्रिय ब्यापारिक सामान आयात(निर्यात गर्न सक्नेछ भएको छ ।

नेपालले सामान आयात निर्यात गर्दा चीनका रेल, बन्दरगाह, इन-ल्याण्ड वाटरवेज वा अन्य यातायातका मार्ग प्रयोग गर्न सक्नेछ । अब हङकङ, जापान, कोरिया, मंगोलिया र चीन आसपासका मुलुकहरुबाट सामान आयात-निर्यात गर्न सहज हुनेछ ।

बुधबारदेखि काठमाडौंमा भएको पारवहन सम्झौता प्रोटोकलको तेस्रो परामर्श बैठकले मस्यौदालाई अन्तिम रुप दिएको हो ।