सम्पादकीय

धार्मिक सर्किटदेखि सगरमाथाको पानीको चर्चा



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा मोदीले नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वयनको वचन दिएका छन् । मोदीले पछिल्ला उच्च तहका अन्तरक्रियाले दुई देशबीचको सम्बन्धको गति उच्च भएको समेत बताए ।

‘दुई नेताबीच नेपाल–भारत सम्बन्धमा भएका प्रगति र आपसी हितका विभिन्न इस्युमा छलफल भयो । प्रधानमन्त्रीले प्रचण्डसँग भएका विगतका संवाद स्मरण गर्नुभयो र नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गर्नुभएको मूल्यवान् योगदानप्रति प्रचण्डलाई धन्यवाद दिनुभयो,’ भेटवार्तापछि मोदीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उच्च तहमा भएको अन्तरक्रियाबाट नेपाल–भारत सम्बन्धले उच्चतम गतिमा बढावा प्राप्त गरेको छ ।’

बिहीबार औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रचण्डले प्रधानमन्त्री मोदीसँग शनिबार शिष्टाचार भेट गरेका हुन् । मोदीनिवास ७ लोककल्याणमार्गमा करिब १ घन्टा लामो भेटवार्ता भएको थियो ।

प्रचण्डको सचिवालयका अनुसार वार्तामा नेपाल र भारतका प्रधानमन्त्रीको आपसी भ्रमण, बिमस्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावनाबारे छलफल भएको थियो । ३१ भदौ ०७३ मा प्रधानमन्त्रीका रूपमा प्रचण्डको पछिल्लो राजकीय भारत भ्रमण स्मरण गर्दै मोदीले त्यसवेला भएका सहमति कार्यान्वयन हुने पनि उल्लेख गरेका छन् ।

प्रचण्ड–मोदी भेटवार्तामा धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरूको एक बृहत्तर सर्किट बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरका रूपमा विश्वभर लैजान सहकार्य गर्नेबारे छलफल भएको थियो । प्रचण्डको सचिवालका अनुसार नेपाल–भारत सीमा समस्या समाधानबारे पनि छलफल भयो ।

सीमा क्षेत्रमा भन्सारहरूको स्तरोन्नतिका विषयमा पनि चर्चा भएको थियो । भेटवार्तामा प्रचण्डसँग छोरी गंगा दाहाल तथा भारतका लागि कार्यवाहक नेपाली राजदूत भरतराज रेग्मी पनि थिए । प्रचण्डको सचिवालयले भनेको छ, ‘पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा भएका सकारात्मक समझदारी र सहमतिहरूलाई प्रभावकारी रूपले कार्यान्वयन गर्नेबारे छलफल भएको थियो ।’