भदौ २४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति नै आधिकारिक भएको बताएका छन् ।
आइतबार दिउँसो स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीजीले जे भन्नुभएको छ, त्यही आधिकारिक हो । मलाई त्यो भन्ने ‘अथ्योरिटी’ पनि छैन, मैले त्यसो भनेको पनि होइन ।’
उनी भारतमा रहेका बेला प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल मन्त्रीहरु हेरफेर हुने कुनै सम्भावना नरहेको प्रष्ट पारेका थिए ।
आफ्नो भारत भ्रमण समग्रमा फलदायी रहेको साथै यसअघि फरक पार्टीको अध्यक्ष, प्रधानमन्त्रीको हैसियतमा आफूले पटक–पटक भारत भ्रमण गरेको स्मरण गर्दै उनले दुई तिहाई प्राप्त पार्टीको अध्यक्षको हैसियतले भने आफ्नो पहिलो विदेश भ्रमण रहेको बताए ।
अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेट गरेका थिए । भेटका क्रममा सबैले समृद्ध नेपालको चहाना व्यक्त गरेको अध्यक्ष दाहालले बताए ।










प्रतिक्रिया दिनुहोस्