राजनीति

रिहा हुँदा बने पौडेल भावुक, स्वागतका लागि बाजागाजासहित पुगे समर्थक



भदौ २५, काठमाडौँ ।  माओवादी सशस्त्र संघर्षका बेला चितवन रत्ननगरमा भएको गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा असार २४ मा आत्मसमर्पण गरेका छविलाल पौडेलले आइतबार सफाई पाएसँगै सोमबार जेलबाट रिहा भएका छन् ।

सोमबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिँदा उनको आँखा रसाए । उनको स्वागतका लागि समर्थक बाजागाजासहित कारागार पुगेका थिए । अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।

अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर गर्ने गरी फैसला सुनाएको हो । २०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएको बेला हत्या भएको थियो ।

छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसाद अधिकारीको पनि अनशनका क्रममा निधन भएको छ । आमा गंगामायाले भने केही महिनाअघि मात्र अनशन तोडेकी थिइन् ।