Banner News

म जसलाई जे राम्रो लाग्छ, त्यही बोल्दिने अर्थमन्त्री होइन : अर्थमन्त्री खतिवडा



भदौ २७, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफु जसलाई जे राम्रो लाग्छ त्यही वोल्दिने अर्थमन्त्री नभएको बताउँदै देशको आर्थिक उन्नतीमा लाग्ने अर्थमन्त्री भएको बताउनुभएको छ ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको गाडी बिक्रेताहरुको ‘नाडा अटो शो’ प्रदर्शनी उद्घाटन गर्ने क्रममा अर्थमन्त्री खतिवडाले गाडी व्यापारीहरुलाई भने, ‘तपाईंहरुले बढी गाडी बेच्नुभयो भने हामीलाई राजस्व पनि बढी नै आउला । यद्यपि मैले भन्ने गरेको छु, राजस्व नै हाम्रो सबै कुरा अन्तिम होइन । ‘क्रेडिट कार्ड’ को अर्थतन्त्र विश्वमा धरासायी भएको उदाहरण दिँदै आम नागरिकलाई भनेका छन् ‘कमाएर गाडी किन्नुहोस् । ऋण लिएर, ऋण तिर्ने क्षमता विकास नभई गाडी नकिन्नुहोस् ।’

अर्थमन्त्री खतिवडाले भन्सार दर शून्य नै बनाए पनि चोरी पैठारी नरोकिने बताए । राजस्वमा आन्तरिक स्रोतको योगदान दुई तिहाई नबन्दासम्म भन्सारमा निर्भर रहनुपर्ने भन्दै मन्त्री खतिवडाले उद्यमी व्यवसायीहरुलाई भने, ‘हामी एउटा सन्तुलित भन्सार नीतिमै पुग्ने हो । त्यो पुगुञ्जेल हामीलाई हाम्रो आन्तरिक क्षमता बढाउनलाई अलिकति समय दिनुस् ।’

अर्थमन्त्री खतिवडाले विद्युतिय सवारी साधन र ठूला सवारीहरुको आयातमा सरकारले बिशेष सहुलियत दिएकोमा आयतकर्तालाई प्रयोगका लागि आग्रह समेत गरे। उनले त्यस्तो सहुलियतलाई निरन्तर बनाउने प्रतिवद्धता जनाए।  सरकाले नक्कली पाटपूर्जाको आयतमा कडाइ गर्ने बताएका छन्। उनले गोरखकाली टायर उद्योग संचालनको तयारीमा रहेको समेत जानकारी गराए।   मन्त्री डा. खतिवडाले गोरखकाली टायर उद्योग पुनः सञ्चालनको तयारी भैरहेको बताउँदै सवारी साधनका नक्कली पार्टपूर्जाहरुको आयातमा कडाई गर्ने पनि बताए।

अर्थमन्त्री खतिवडाले भन्नुभयो ‘आम सार्वजनिक यातायातका साधनको प्रयोगलाई बढी जोड दिउँ भन्ने कुराहरु आएका छन् । यसमा सरकारको प्राथमिकता छ । हामीले विद्युतीय सवारी साधनका लागि वा ठूलो सार्वजनिक यातायातको साधनका लागि अलि बढी प्राथमिकता दिएका छौं । त्यसमा तपाईंहरुको सहयोग र सहकार्यको हामीले अपेक्षा गरेका छौं । तपाईंहरु आउनुस्, हामीसँगै यसमा काम गरौं ।’

चोरी पैठारी हुने विन्दुमा प्रशासनिक संयन्त्रबाट यसलाई रोक्ने भन्दै भन्सारका दरहरु अटोमोबाइलको राजस्व संरचना परिवर्तन गर्दै जाँदा यिनीहरुमा पनि स्वभाविकरुपमा परिवर्तन हुँदै जान्छ र यसमा सरकारले ध्यान दिने मन्त्री खतिवडाले बताउनुभएको छ ।

हामी एउटा सन्तुलित भन्सार नीतिमै पुग्ने बताउँदै अर्थमन्त्री खतिवडाले त्यो पुगुञ्जेल हामीलाई हाम्रो आन्तरिक क्षमता बढाउनलाई अलिकति समय दिनलाई आग्रह गर्नुभएको छ । आर्थिकरुपमा हामी सबल हुँदै जाँदा, मुलुक आधुनिकीकरण हुँदै जाँदा, जीवनशैली आधुनिक हुँदै जाँदा, हाम्रो आर्जन गर्ने क्षमता बढ्दै जाँदा र एफोर्ड गर्ने क्षमता सँगसँगै बढ्दै जाँदा त हामीले उपभोगलाई अघि नबढाइकन आर्थिक वृद्धि नहुने बताउनुभएको छ ।

२० औं, ३० औं वर्षसम्म मुलुकमा आर्थिक विकृति, आर्थिक अनियमितता र अनुशासनहीन तुल्याइएको बताउँदै कामहरु अघि बढाइरहँदा ६ महिनामै सप्पै सुधार भइसक्छ भन्ने केही जनताको सदाशयता व्यवहारिक नहुने बताउनुभएको छ ।

निजी क्षेत्रसँग सहयोगको वातावरण सिर्जना गर्ने बताउँदै मन्त्री खतिवडाले लगानीसम्बन्धी कानून तर्जुमाको अन्तिम चरणमा पुगेको बताउनुभएको छ । कार्यक्रममा वोल्दै कतिपय कानूनहरुलाई हामी निजी क्षेत्र मैत्री बनाउने बताउनुभएको छ । सरकार बैंकिङ क्षेत्रको तरलतालाई समाधान गर्नेतर्फ धेरै प्रयास गरिरहेको बताउँदै ब्याज दर, तरलतामा क्रमिकरुपमा सुधार हुने बताउनुभएको छ ।