बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका आमाबाबुले न्यायको आश मरिसकेको बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएर फर्केपछि निर्मलाका आमाबाबुले सरकारबाट आश्वासन धेरै पाएको भन्दै अब न्याय चाहिएको बताए । ‘आश्वासन धेरै पायौँ, न्याय चाहियो गृहमन्त्रीज्यू,’ ज्ञापनपत्र बुझाउने क्रममा निर्मलाकी आमा दुर्गादेवीले भनिन् ।
गृहमन्त्रीले भने चिन्ता लिनु नपर्ने भन्दै दोषी पक्राउ पर्ने आश्वासन दिए । ‘हामी अपराधीको धेरै नजिक पुगिसकेका छौँ, चिन्ता लिनुपर्दैन, गृहमन्त्रीका रूपमा अपराधी पक्राउ नपर्दा मलाई पनि धेरै पीडा भइरहेको छ,’ गृहमन्त्री थापाको जवाफ थियो ।
तर, गृहमन्त्रीको जवाफबाट उनीहरू खुसी हुन सकेनन् । किनकि यस्ता आश्वासन उनीहरूले धेरैपटक पाइसकेका छन् । गृहमन्त्री थापाले एक महिनाअघि नै दुई अभियुक्त पक्राउ परिसकेको भनेर संसद्मा बोलेका थिए । गृहमन्त्रीसँग भेटेर निस्किएपछि गृह मन्त्रालय परिसरमा निर्मलाका बाबु यज्ञराजले भने, ‘आश्वासनको अब विश्वास लाग्न छाडिसक्यो ।’
निर्मलाको हत्या भएको ५१ दिन भइसकेको छ । प्रहरी अनुसन्धान शून्यमा छ । हत्या आरोपमा प्रहरीले सार्वजनिक गरेका दिलीपसिंह विष्ट छुटिसकेका छन् । निर्मलाको शव भेटिएको ११ साउनदेखि निरन्तर सरकारलाई दबाब दिइएको छ ।
तर, सरकारले कसले निर्मलाको हत्या ग-यो भन्ने जवाफ दिन सकेको छैन । अनुसन्धानमा अलमलिएपछि प्रहरीले सर्वसाधारणको आशंकाको आधारमा तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण तथा अर्का स्थानीय युवकको समेत डिएनए परीक्षण अघि बढाएको छ ।
प्रहरीका अनुसार निर्मलाको गुप्तांगमा वीर्य भेटिएको थियो । यौनांगको बाहिरी भाग, बीचको भाग र भित्री भागमा रहेको वीर्य संकलन गरी डिएनए परीक्षण प्रक्रिया अघि बढाइएको थियो । सुरुमा प्रहरीले स्थानीय दिलीपसिंह विष्ट र चक्रदेव बडूको पनि डिएनए परीक्षण गरिएको थियो ।
तर, डिएनए नमिलेपछि उनीहरू छुटिसकेका छन् । डिएनएबाहेक प्रहरीले अनुसन्धानको अरू बाटो नै भेटेको छैन । १० साउन दिउँसो घटनास्थलको मोबाइल लोकेसन हेरेर अनुसन्धान गरे पनि प्रहरीले केही पत्तो लगाउन सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्