समाचार

पोखरामा नयाँ मापदण्ड जसको बढी जग्गा, उसको अग्लो घर !



असोज ९, पोखरा । पोखरामा जग्गाअनुसारको उचाइ निर्धारण गर्ने गरी नयाँ मापदण्ड ल्याउन विज्ञले प्रतिवेदन बुझाएका छन् ।

जग्गाको क्षेत्रफल अनुपातमा जति पनि अग्लो बनाउन सकिने नियम ल्याउन विज्ञहरुले महानगरपालिकालाई बुझाएका हुन् ।

भवन निर्माण मापदण्ड परिमार्जन गर्न महानगरले गएको वैशाखमा इन्जिनियर प्रा.डा. भरतराज पहारीको संयोजकत्वमा गठन गरेको विज्ञ समितिले तयार पारेको प्रतिवेदन महानगरको कार्यपालिकामा पुगेकोे छ । प्रतिवेदनले पोखराका विभिन्न क्षेत्रलाई वर्गीकरण गरेर भवनको उचाइसम्बन्धी सीमा निर्धारण गर्दा भुइँ क्षेत्रको अनुपातका आधारमा निर्धारण गरिने उल्लेख छ । जग्गाको क्षेत्रफल, उपयोग र भवनको किसिमअनुसार फ्लोर एरिया रेसियो अर्थात भुइँ क्षेत्रको अनुपातमा उचाइ निर्धारण गर्न प्रस्ताव गरिएको छ ।

विज्ञ समूहले कार्यपालिकामा बुझाएको प्रतिवेदन पारित भएमा जग्गाको क्षेत्रफल बढी हुनेले अग्लो घर बनाउन पाउनेछ । प्रतिवेदनअनुसार ४ आना जग्गा हुनेले साढे ४ तलासम्मको घर बनाउन सक्छ । ठाउँ, भवनको किसिम र तुलनात्मक जग्गाको क्षेत्रफलको अनुपात फरकफरक राखिएको छ ।

Facebook