असोज १०, न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गरेका छन ।
संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कारवाही’ को उच्चस्तरीय बैठकमा प्रधानमन्त्री ओलीले हरेक द्वन्द्वको परिस्थिति फरक हुने र त्यसका लागि भिन्न उत्तर आवश्यक हुने बताउँदै द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्ने र घरमै तयार भएको, राष्ट्रले स्वामित्व लिएको र नेतृत्व दिएको राजनीतिक प्रक्रियाले दिगो शान्ति दिनसक्छ भन्ने कुरालाई नेपालले स्पष्टसँग प्रदर्शन गरेको बताएका छन ।
प्रधानमन्त्री ओलीले शान्ति प्रयासमा महिलाको पूर्ण समान तथा अर्थपूर्ण सहभागितामा त्यसको सफलताको प्रमुख तत्व हुने बताउँदै नेपालले शान्तिस्थापकको पेशागत क्षमता सुधार गर्न विश्वस्तरीय तालीम सुविधा उपलब्ध गराउने प्रस्ताव राखेका छन ।
‘संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारवाही सञ्चालनप्रति साझेदारीयुक्त बचनबद्धताको घोषणापत्र’ महासचिव गुटेरेसको पहलको एक भाग हो । उहाँले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारवाही सञ्चालनप्रति राजनीतिक समर्थन नवीकरण गर्न प्रयास गरिरहनुभएको छ । घोषणापत्रले शान्ति स्थापनार्थ कारवाहीको राजनीतिक प्रभाव विस्तार गर्न र यसले दिने सुरक्षालाई बलियो बनाउन विशेष वचनबद्धता प्रकट गर्छ ।










प्रतिक्रिया दिनुहोस्