राजनीति

नेपाल र चीन दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक भोलि बिहीबारदेखि



असोज १०, काठमाडौं । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको  छ । सोही भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उहाँका चिनियाँ समकक्षीबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो ।

 बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्यायले नेतृत्व गर्नुहुनेछ भने चिनियाँ सरकारका तर्फबाट पनि ऊर्जा मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहनेछ ।

नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि यसअघि भएका प्रयास तथा नेपालका विभिन्न आयोजनामा चीन सरकारको तर्फबाट भइरहेको लगानी, आगामी दिनमा अपनाइने लगानीका उपाय तथा ढाँचाका बारेमा समेत ऊर्जा संयन्त्रको बैठकमा छलफल हुने कार्यक्रम छ ।

प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा सहमति भएको थियो । यस्तै सङ्खुवासभा हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा समेत प्रस्ताव गरिएको छ । नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक, ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विविध क्षेत्रमा छलफल हुने र एउटा समझदारी गर्ने कार्यक्रम रहेको छ ।