असोज ११, पाँचथर । पूर्वी पहाडी जिल्लाको पाँचथर जिल्लामा आगामि दुई वर्षमा सवै स्थानीय निकायमा विद्युत प्रसारण लाईन विस्तार भईसक्ने भएको छ ।
शिवगंगा पन्चमुखी ग्रामिण विद्युत सहकारी संस्था लिमिटेड मार्फत फालेलुङ्ग गाउपालिका वडा नं. १ र २ मा विद्युतिकरण गर्न नेपाल विद्युत प्राधिकरण र उक्त संस्थाबिच रु ७ करोड १७ लाख ६१ हजार ९ सय ८८ रुपैया बराबर लागतको सम्झौता हिजो सम्पन्न भएको छ ।
संस्थाको तर्फबाट डिल्ली रिजाल, केशव गुरागाई, राजन भट्टराई र धनेन्द्र आङ्थोपो सहितको टोलि र प्राधिकरण बिच काठमाडौं उक्त सम्झौता भएको हो ।
पाँचथर जिल्लाका प्रतिनिधिसभाका सांसद बसन्त नेम्वाङले शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, खेलकुद लगायतको विकास गर्नु पाँचथर जिल्लाको लागि पहिलो कार्य भएकाले त्यसै अनुरुप विद्युत विकासको कार्यलाई तिव्रता दिइएको बताउनुभयो ।
त्यस्तै सांसद नेम्वाङले आगामि दुई वर्षभित्रमा राष्ट्रिय विद्युत प्रसारण लाइन पुर्याई पाँचथर जिल्लालाई उज्यालो जिल्लाको रुपमा विकसित गर्ने दावि समेत गर्नुभयो । त्यस्तै उहाँले जिल्लालाई समृद्ध बनाउन विद्युत विकासको अभियान नै सञ्चालन गर्ने तयारीमा रहेको समेत जानकारी गराउनुभयो ।
उहाँले विद्युत विकासको गतिलाई तिव्रता दिन प्राधिकरणसँग भएको सम्झौताका काम गर्न फालेलुङ गाउपालिकाका वडा नं. ३, ४, ५, ६, ७ र याङ्वरक गाउपालिकाका १, २ र ३ नंं वडाका जनप्रतिनिधिलाई आग्रह समेत गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्