समाचार

पाँच दिनदेखि लगातार पहिरो : लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र



असोज १२, अछाम । कमलबजार नगरपालिका–५ स्थित लोडिङ्गे भीरमा पाँचदिन अघिदेखि लगातार गइरहेको सुख्खा पहिरोका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध भएसँगै यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन् ।

सडक अवरुद्ध भएसँगै अछामको पूर्वी क्षेत्र हुँदै नेपालगञ्ज, सुर्खेत लगायतका क्षेत्रमा जाने सवारी साधन अलपत्र परेका छन् । पहिरोको कारण जिल्लाकोे पूर्वी क्षेत्रबाट शिक्षक सेवाको परीक्षा दिन डोटी जाने परिक्षार्थी मारमा परेका छन् ।

सडकका कारण पूर्वी अछाम र जिल्ला सदरमुकामको सडक सम्पर्कसमेत टुटेको छ। साँघुरो बाटोमा माथिबाट पहिरो जान थालेपछि अछामबाट नेपालगञ्ज जाने सवारी साधन धनगढी हुँदै जाने गरेका छन् । सडकदेखि करिब दुई सय मिटर माथिबाट लगातार पहिरो खस्न थालेपछि पन्छाउन पनि अफ्ठ्यारो भएकाले सडक खोल्न नसकिएको सडक खण्ड निर्माण कम्पनी पीके निर्माण सेवाले जनाएको छ।