असोज १२, काठमाडाँ । भूकम्पपछि पुनर्निर्माण कार्य सुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनःनिर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार यसमा बाँकी २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेका छन् ।
कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन बाँकी रहेकोले पुनःनिर्माण भएका घरको संख्या करिब साढे तीन लाख पुगेको प्राधिकरणको अनुमान रहेको छ । साथै, दसैंतिहारपछि पुनःनिर्माण भइरहेका घरहरुको निर्माण सम्पन्न हुने र सुरु गर्न बाँकी लाभग्राहीले पनि निर्माण थाल्ने प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय तहमा पठाइने बरिष्ठ इन्जिनियर सहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरहरुको पुनःनिर्माण छिटो सम्पन्न गर्न सहयोग पुग्ने बताउनुभयो । ‘अभियानका रुपमा निजी आवास पुनःनिर्माणलाई अघि बढाउन लाभग्राही, स्थानीय तह, राजनीतिक दलदेखि सबैको सहयोग जरुरी छ’, उहाँले भन्नुभयो ।
भूकम्पबाट घर क्षति भएकामध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या ७ लाख २३ हजार ७ सय २८ छ । त्यसमध्ये ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् । त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ५ लाख ३ हजार ३६ पुगेको छ । २ लाख ६६ हजार ९ सय ४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् ।
गुनासो सम्बोधनपछि कुल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख १० हजार ६ सय ९० पुगेको छ । त्यस्तै, प्रवलीकरणको सूचीमा परेका लाभग्राहीको संख्या ६१ हजार ८ सय ९१ पुगेको छ ।
हालसम्म पुनः निर्माण सम्पन्न भइसकेका जिल्लगत तथ्याङ्क अनुसार ४९,५४० ( सिन्धुपाल्चोक), ४४,४६१ (दोलखा), ३६,४९० (गोरखा), ३५,६६१ (धादिङ), २८,१५० (नुवाकोट), २३,७३४ (रामेछाप), २०,७५२ (काभ्रेपलाञ्चोक), ११,११० (सिन्धुली), १०,७८७ (ओखलढुङ्गा), ३,४५५ (ललितपुर), ५,५३० (भक्तपुर), ७,४३८ (काठमाडौं), ८,५९१ (रसुवा), ८,३४६ (मकवानपुर), १,१९१ (खोटाङ), ४३० (सोलुखुम्बु), ५२० (स्याङ्जा), ३१५ (गुल्मी), १६ (अर्घाखाँची) र ७ ( लमजुङ) रहेका छन् ।
१ खर्ब ४८ अर्ब अनुदान वितरण
भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणमा गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार ५१८ रुपैयाँ वितरण भएको छ । यसमध्ये १४ अर्ब ३८ करोड ७७ लाख ८७ हजार ४ सय ५१ आर्थिक वर्ष २०७२÷७३ मा वितरण भएको थियो भने आर्थिक वर्ष २०७३÷७४ मा ३५ अर्ब ३५ करोड ४५ लाख १८ हजार २ सय ५८ वितरण भएको प्राधिकरणले जानकारी गराएको छ । त्यसैगरी, २०७४÷७५ मा ८८ अर्ब ४७ करोड ४० लाख ८८ हजार ८ सय ९ रुपैयाँ बराबरको आवास अनुदान वितरण भएको छ ।
चालु आर्थिक वर्षका लागि पुनर्निर्माण प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये हालसम्म करिब १० अर्ब रुपैयाँ वितरण भइसकेको छ भने नेपाल सरकारले बजेट कार्यक्रममार्फत् यस आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
गुनासो फस्र्यौटबाट थपिंदै लाभग्राही
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत सङ्कलित तथ्याङ्क विश्लेषण गरी १ लाख १८ हजार ७ सय ८० गुनासोको सुनुवाइ गरी नतिजा सार्वजनिक गरेको छ । भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार यसबाट ४२ हजार ४ सय २२ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही सूचीमा परेका छन् ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार ३५ हजार ५ सय ५ घरधुरी प्रवलीकरण लाभग्राहीमा समावेश भएका छन् भने २८ हजार ५ सय ७४ गुनासोकर्ता लाभग्राही हुन अयोग्य देखिएको प्राधिकरणले जनाएको छ । ‘बाँकी गुनासोकर्ताको बारेमा थप पुष्टिका लागि स्थानीय तहमा पठाइएको छ । छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत बाँकी गुनासोको प्राधिकरणका प्राविधिकहरूद्वारा अध्ययन भइरहेको छ’, घिमिरले भन्नुभयो ।
प्राधिकरणले गत वर्ष स्थलगत रुपमा प्राविधिक इन्जिनियर परिचालन गरी छुट तथा पुनःजाँच सर्वेक्षणमार्फत १ लाख २९ हजार ४ सय ८ गुनासो संकलन गरेको थियो ।
त्यसैगरी, प्राधिकरणले प्रभावित १६ जिल्लाका २ सय ६३ गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राही र १३ सय ९५ गुनासोकर्तालाई प्रवलीकरण लाभग्राही कायम गरेको छ । त्यसैगरी, ३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० जनाको अर्को स्थानमा बस्नयोग्य घर भए/नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय पनि गरेको छ ।
अनुदान लिन नयाँ समयसीमा
भदौ २१ गते बसेको प्राधिकरण निर्देशक समितिको निजी घरधनी लाभग्राहीले अनुदानको किस्ता लिइसक्नुपर्ने समयसीमा तय गरेको छ । अब २०७५ असार मसान्तसम्म पहिलो किस्ता प्राप्त गरिसकेका लाभग्राहीले २०७५ पौष मसान्तभित्र दोस्रो र २०७६ वैशाख मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, गुनासो सम्बोधनलगायतबाट हालसम्म पहिचान भएका सबै लाभग्राहीहरुसँग अनुदान सम्झौता सम्पन्न गरी प्रथम किस्ता प्राप्त गर्ने समयसीमा २०७५ कार्तिक मसान्त तोकिएको छ । यस्ता लाभग्राहीले २०७५ माघ मसान्तभित्र दोस्रो किस्ता लिनुपर्नेछ भने २०७६ जेठ मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्ने प्राधिकरणले जनाएको छ ।
आगामी दिनमा गुनासो सुनुवाईबाट लाभग्राही सूचीमा परेका एवं पुनःसर्भेक्षण, जोखिम वर्ग, परम्परागत वस्ती, एवं वस्ती स्थानान्तरणबाट आउने लाभग्राहीहरुका लागि अनुदान किस्ता प्राप्त गर्ने समयावधि कार्यकारी समितिले निर्धारण गरे बमोजिम हुने जनाएको छ ।
प्राधिकरणले सरकारद्वारा बजेट कार्यक्रममार्फत् निर्धारण गरेको लक्ष्यअनुसार लचिलो समयसीमा निर्धारण गरेको छ । पहिलो किस्ता लिएर पनि घर निर्माण सुरु गर्न बाँकी भएका लाभग्राहीले घर निर्माण शीघ्र सुरु गर्नु पर्ने जनाएको छ । यसअघि समयसीमा संशोधन हुने गरेको भए पनि अब त्यसो गर्न निकै कठीन हुने भएकोले बाँकी सबै लाभग्राहीलाई घर निर्माण थाल्न प्राधिकरणले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्