समाचार

आगामी जनगणनाको तथ्याङ्क सूचना तथा बहुप्रविधिमैत्री बनाइने



असोज १३, काठमाडौंँ । आगामी २०७८ सालमा हुने नेपालको जनगणनामा सूचना प्रविधिको प्रयोग गर्दै बहु प्रविधिमैत्री विधिको प्रयोग गरिने भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आज आयोजना गरेको ‘राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुकोे सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा आगामी जनगणनामा बैज्ञानिक प्रविधिको प्रयोग गर्दै विविधताको पहुँचमा समानताको हक स्थापित गर्ने प्रकारको तथ्याङ्ग संकलन गर्ने बताइएको छ ।

नेपाल सरकारको वि.सं. २०६८ सालको जनसंख्याको तथ्याङ्क अनुसार नेपालमा दुई प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुको बसोवास रहेका छन् । त्यस्तै विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार विश्वको जम्मा जनसंख्याको करिब १५ प्रतिशत मानिस अपाङ्गता रहेको जनाइएको छ ।

कार्यक्रममा केन्द्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले दिगो विकासको लक्ष्यमा अपाङ्गताको सवाल एक अर्काका परिपुरक भएको बताउनुभयो । उहाँले आगामी जनगणनाले लैङ्गिक तथा सामाजिक समावेशीताको आधारमा हुने भन्दै उहाँले भन्नुभयो – ‘सामाजिक जनचेतना, प्रविधि, सूचनाको विकास गर्दै विभाग अघि वढेको छ । तथ्यपरक रुपमा तथ्याङ्क संकलन हुन्छ ।’

महासंघका मुख्य प्रशासक मनिस प्रसाईले पिछडिएको वर्ग तथा समुदायलाई राष्ट्रको मुलधारमा ल्याउनु तथ्याङ्कको मूख्य प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधानमा लिपिवद्ध भएता पनि कार्यान्वयनमा समस्या उत्पन्न भएकाले अपाङ्गहरुले समानताको महशुस गर्न नसकेको बताउनुभयो ।

महासंघका उपाध्यक्ष गीता दाहालले आगामी २०७८ मा हुने जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुलाई तथ्याङ्कमा छुट्याउनु नहुने बताउनुभयो । उहाँले धार्मिक, सामाजिक, सांस्कृतिक रुपमा समेत छुट्याई गणना गर्नुपर्ने बताउनुभयो ।