सम्पादकीय

फेसबुकमा लाईभ गर्दै आत्महत्या



कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुकमा लाईभ गर्दै आत्महत्या गरेका छन् । तामाङले आइतबार राती १० बजेर १३ मिनेटमा आत्महत्या गर्ने संकेतको स्टाटस फेसबुकमा राखेका थिए । ‘कति जनाले लाईभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ’, समय पनि लेख्दै निश्चलले फेसबुक स्टाटस अपडेट गरेका थिए । यो खबर  आजको नागरिक दैनिकमा छापिएको छ ।

कक्षा १२ मा अध्ययन गर्दा पढाई छाडेका उनी लागुपदार्थको लतमा फसेका थिए । उनी रिहाब सेन्टरबाट फर्किएको एक महिना भएकाे रआत्महत्या गर्नुअघि उनले सुसाइड नोट लेखेको पाइएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए । ‘अगाडी पछाडी पुरै दुई पेज लेखिएकाे सुईसाईड नोट भेटिएको छ’ उनले भने ।

तामाङले सुसाइड नाेटमा लेखेका छन् ‘मैले जति सुध्रिन खोजे पनि सुध्रिन सकिन, म राम्रो मान्छे बन्न सकिन । यो जुनीलाई यस्तै भो अर्को जुनी यहि आमाको कोखबाट जन्मिन्छु। राम्रो मान्छे भएर जन्मिन्छु ।’ नोटमा आत्महत्या गर्नुको कारण आफै भएको र यसको जिम्मा समेत आफै लिने भनेर लेखिएको ज्ञवालीले बताए। फेसबुकमा लाईभ गरिएको भिडियोमा फोर्थ क्वाटर रक्सी खाँदैछु भनेर उनले भनेका छन् ।

आत्महत्या गर्नुअघि एक मिनेट २४ सेकेन्डको उनले लाईभ भिडियो समेत प्रस्तुत गरेका थिए । जसमा ‘मैले रक्सी खाँए, यो मेरो आमाको सल हो, यसलाई यसरी लगाउँछु र झुण्डिन्छु’ भनेर भनिएको छ। निश्चल सलको पासोमा झुण्डिरहेको देखेपछि बाबु जीवनले प्रहरीलाई खबर गरेका थिए ।

राती १२ बजेको सेरोफेरोमा सुसाइड गरेको हुनसक्ने अनुमान ज्ञवालीको छ। प्रहरीलाई दुई बजे खबर आएको थियो। प्रहरी पुग्दा पासो काटिसकेको र मृत्यु भईसको उनले बताए । निश्चलले यसअघि पनि आत्महत्याको प्रयास गरेका थिए । सामान्य परिवारका उनी ट्याटु बनाउने काम गर्थे ।