राजनीति

नेकपासम्वद्ध दुवै अनेरास्ववियूले मागे प्रहरी महानिरीक्षक खनालको राजीनामा



असोज १८ काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन् ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द खनालको बर्खास्ती माग गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादललाई भेटी उनीहरुले प्रहरी प्रमुख खनालको बर्खास्ती माग गरेका हुन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको लामो समय वितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनीहरुले त्यसमा प्रहरी प्रमुख नै कमजोर भएको भन्दै बर्खास्ती माग गरेका हुन् ।

बिहीबार गृहमन्त्री रामबहादुर थापालाई सिंहदरबारमा ज्ञापन पत्र बुझाउँदै दुवै संगठनका नेतृत्वले सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेपछि त्यसको नेतृत्व लिएका महानिरीक्षक खनाललाई तत्काल बर्खास्त गर्न गृहमन्त्री थापालाई दवाव पनि दिएका छन् ।

अनेरास्ववियुका अध्यक्ष एवं सांसद् नविना लामा, क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका उपाध्यक्षहरु रश्मि आचार्य, महेश बर्तौला, शैलेस लामा, क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत, अनेरास्ववियुका सचिव आसरी लामिछाने लगायतको टोलीले गृहमन्त्रीलाई भेटी पन्तको हत्यामा संलग्न बम दिदीबहिनी र तत्कालिन एससी, प्रमाण नष्ट गर्ने प्रहरी अधिकारी सबैमाथि अनुसन्धान केन्द्रित गरी कढा कारवाही गर्नुपर्ने पनि उनीहरुले माग गरेका छन् ।