Banner News

तिथि घोषणा गर्दैमा निर्वाचन हुन सक्दैनः पोखरेल



विराटनगर, ४ माघ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि आवश्यक कानुनको निर्माण नभएको अवस्थामा निर्वाचनको तिथि घोषणा गर्दैमा निर्वाचन हुन नसक्ने बताए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधनको प्रस्तावका सम्बन्धमा पार्टीको पुरानै अडान कायमै छ भन्दै ‘निर्वाचन गराउने सरकारको मनशाय नरहेको कारण’ सो विधेयक ल्याइएको जिकिर गरे ।
उनले यदि सरकारले निर्वाचन गराउन खोजेको छ भने संविधान संशोधन विधेयक फिर्ता लिनुपर्छ वा स्थगन गरी निर्वाचनका लागि आवश्यक कानुन निर्माणतर्फ अग्रसर हुनुपर्ने जनाएका ।

उनले भने ‘संविधान निर्माणको बेलामा जसरी प्रमुख तीन दलबीच एकता थियो सोहीअनुरुपको एकता संविधान कार्यान्वयनका लागि पनि हुनुपर्छ ।’

स्थानीय निकाय पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनकै आधारमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा उनको जोड दिए ।