काठमाडौं, १५ फागुन । पार्टी सञ्चालन अपादरर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग लिखित माग गरेको छ ।
राजदूत नियुक्ति, भ्रातृसंस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनसम्मका काममा सभापति देउवाले एकलौटी गरेको भन्दै छिटो बैठक बोलाएर छलफल गर्न पौडेल पक्षले माग गरेको छ ।
पौडेल पक्षको शनिबार भएको बैठकमा नेताहरूले ‘अब देउवाबाट पार्टी चल्दैन’ भन्दै आ–आफ्ना धारणा राखेका थिए । तर, देउवालाई पत्र बुझाउँदा भने उनीहरूले नरम भाषा प्रयोग गरेका थिए । ९ कात्तिकको केन्द्रीय समिति बैठकयता देउवाले बैठक बोलाएका छैनन् ।
‘पार्टी सञ्चालनको शैली पारदर्शी र संस्थागत भएन । भ्रातृसंस्था पनि व्यवस्थित भएन । राजदूत नियुक्तिमा उस्तै एकलौटी गुटगत प्रवृत्ति हाबी भयो भन्ने विषयमा गम्भीर समीक्षा भयो,’ छलफलमा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘पार्टी सञ्चालन नै पारदर्शी नभएपछि यी विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक तत्काल माग गर्न ध्यानाकर्षण गराउन लिखितपत्र बुझाइको हो ।’ केही दिनमै केन्द्रीय समिति बैठक नडाके अरु सदस्यहरूले पनि हस्ताक्षर गरेर दबाब बढाउने तयारी पौडेल पक्षको छ ।
पार्टी नेतृत्व सुस्ताएको निष्कर्ष
राष्ट्रिय परिस्थितिमा कांग्रेसले नेतृत्व गर्न आवश्यक भए पनि सभापतिको शैली र सक्रियता त्यस्तो नदेखिएको भन्दै पौडेल पक्षले पार्टी नेतृत्व सुस्ताएको निष्कर्ष निकालेको छ । सभापतिले पार्टीलाई एकढिक्का बनाउनुको सट्टा आफैंले गुटगत राजनीतिलाई बल दिएको भन्दै पौडेल पक्ष तीव्र असन्तुष्ट बन्न पुगेको छ ।
स्ववियु चुनावमा सभापति अनुदार
बैठकमा स्ववियु चुनाव गराउने विषयमा सभापति देउवा पक्ष नै अनुदार रहेको निष्कर्ष निकालिएको छ । ‘स्ववियुको नोमिनेसन हुने दिनसम्म पनि तालाबन्दी भइरह्यो । सभापति पक्षधर नेविसंघका सभापति तालाबन्दी गर्नुपर्छ भन्दै हिँडेका छन्,’ छलफलमा सहभागी एक नेताले भने, ‘यस्तो हुँदा एमालेको आरोपलाई बल पुर्याउने ठाउँ पार्टीभित्रैबाट दिएका छौं ।’
कांग्रेससँग उठबस नगर्नेलाई राजदूत बनाइकोमा आक्रोश
बैठकमा आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडू, डा।मिनेन्द्र रिजालसहितका नेताले राजदूत नियुक्तिमा सभापति देउवाले एकलौटी गरेको र कांग्रेसलाई नै दाग लगाउने काम गरेको आरोप लगाएका थिए ।
‘कांग्रेस नै नभएका आशा लामासहितलाई राजदूत बनाइएको असन्तुष्टि व्यक्त भएको छ,’ छलफलमा सहभागी केन्द्रीय सदस्य घिमिरेले भने, ‘कांग्रेसले चिनेको, कांग्रेससँग उठबस गरेका कोही भएनन् । कांग्रेसको बौद्धिक प्रतिष्ठाभन्दा बाहिरकालाई बनाएकोप्रति असन्तुष्टि व्यक्त भएको छ ।’ भीम उदास र रमेश कोइराला पनि कांग्रेसभन्दा बाहिरका भएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्