Banner News

प्रदेश नं ३ का सांसद डा. श्रेष्ठलाई दर्जन बढी संस्थाद्वारा सम्मान



असोज २७, भक्तपुर । प्रदेश नं ३ का प्रदेश सांसद डा. राजेन्द्रमान श्रेष्ठलाई भक्तपुरका १ दर्जनभन्दा संस्थाले संयुक्त रूपमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् ।

आज भक्तपुरमा आयोजित उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मध्येका नारायण बिलाश जोशीको स्मृतिमा स्थापित नारायण बिलाश जोशी स्मृति प्रतिष्ठानका साथै प्रगतिशिल आर्थिक सहयोग तथा बचत कोष, श्रीमती शुसिला सुवेदी छात्रावृत्ति कोष, कान्छा काजो नापो पःमा तथा चिनिमाया श्रेष्ठ स्मृति कोष, सुँगा फोहोर पानी प्रशोधनशाला व्यवस्थापन समिति, थिमी कला परिषद्, सैभाग्य पुस्तकालय, जनआदर्श क्याम्पस, बालप्रेमी माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय, वुद्धिजीवि परिषद् तथा नेपाल जापान कल्याण एशोसिएसनले संयुक्त रुपमा वातावरण विज्ञान विषयमा विद्यावारिधि हासिल गर्न सफल हुनु भएकोमा ‘बधाई तथा शुभकामना’ सहित सम्मान कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा मुख्य वक्ताको रूपमा बोल्दै पूर्व डिन तथा शिक्षाविद् डा. प्रकाशमान श्रेष्ठले अध्ययन तथा अनुसन्धानबाट मात्र देशको लक्ष्य अनुसार समृद्ध नेपाल सुखी नेपाली हुन सक्ने उल्लेख गर्नुभयो । उहाँले सम्मानित हुनुहुने डा. श्रेष्ठले शैक्षिक योग्यताको पूर्णता जस्तै आफ्नो योग्यताको आधारमा प्रदेशसभामा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित हुनुभएका सांसद डा. श्रेष्ठले आफुलाई दिएको बधाई तथा शुभकामनाको साथमा शुभ कार्यको सुरुवात गर्ने जनाउनुभयो । सम्मानले आफ्नो काँधमा थप जिम्मेवारी सुम्पेको भन्दै आफुले सिकेको ज्ञानलाई देशको नाममा समर्पण गर्ने उद्घोष गर्नुभयो । उहाँले देशको समस्या आफ्नो समस्या भएको भन्दै सवैलाई एकजुट भई समस्या समाधान गर्दै देश विकासमा लाग्नलाई आग्रह समेत गर्नुभयो ।