समाचार

माध्यमिक तहमा प्राविधिक विषयलाई अनिवार्य पाठ्यक्रममा समावेश : मन्त्री पोखरेल



असोज ३१, बर्दिबास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी शैक्षिकसत्रदेखि माध्यमिक तहबाट प्राविधिक विषयलाई अनिवार्य रुपमा पाठ्यक्रममा समावेश गरिने बताउनुभएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशिला परिवार (कम्युन)ले आज आयोजना गरेको दशैँतिहार, नेपाल संवत्, छठ र इद पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपालको शैक्षिक लक्ष्य प्राप्त गर्न माध्यमिक तहदेखि नै आयुर्वेद, योग, कृषि, पशुविज्ञान र वनसम्बन्धी पाठ्यक्रम बन्ने जानकारी दिनुभयो ।

बर्तमान समय विकास र समृद्धिको भएकाले सवै प्रकारका विकासलाई एक साथमा लैजान मुख्य भूमिका खेल्ने शिक्षा भएकाले शिक्षालाई प्राविधि तथा व्यवहारिक हुनु अहिलेको अनिवार्य आवश्यकता रहेको औल्याउनुभयो ।

नेपाल एक कृषि प्रदान देश भएकोले यसलाई प्राविधिकमैत्री बनाउन सकेमा देशमा रोजगारीको वातावरण सिर्जना हुने समेत दावि गर्नुभयो । त्यस्तै देशको आर्थिक तथा सामाजिक विकास गर्ने अर्को माध्यमको रुपमा पर्यटन समेत भएकाले यसलाई शैक्षिक पाठ्यक्रममा समावेश गरी व्यवहारिक रुपमा अघि वढाउनुपर्ने बताउनुभयो ।