कार्तिक १, काठमाडौँ) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका बारेमा समिक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय नभएको बताउनुभएको छ ।
बुधबार रिपोर्टस नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकार संचालन गरेको तथा संघियता कार्यान्वयन गरेको सात महिना भएकोले आजका दिनसम्म भएको सरकारका कामकारवाही, नीति नियम, कार्ययोजना लगायतका कुराहरुको समिक्षा जरुरी रहेका बताउनुभयो ।
सरकारले ल्याएको बजेट वितरणमूखी भन्दा पनि संकलनमुखी भएको बताउँदै वर्तमान सरकारको समयमा ३१ प्रतिशतले राजश्व वृद्धि भएको बताउनुभयो । उहाँले टाट पल्टेको अर्थतन्त्रलाई ३१ प्रतिशतले राजश्व वृद्धि गर्नु सरकारको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
उहाँले करको हल्ला बढी वास्तविकता कम भएको बताउनुभयो । स्थानीय तहले जनतालाई समस्या हुने कुनै पनि प्रकारको करको वृद्धि नगरेको बताउँदै केही नाम चलेका मिडियाले प्रचारवाजी मात्र गरेको समेत बताउनुभयो । उहाँले यदि कुनै स्थानीय तहले जनतालाई मर्कामा पर्ने गरी करको वृद्धि गरेको आधिकारीक जानकारी आएमा त्यसको जनपक्षिय समाधान गर्न बर्तमान सरकार तयार रहेको समेत बताउनुभयो ।
सांसद बस्नेतले स्थानीय सरकारमा कुनै सत्तापक्ष र प्रतिपक्ष नहुने भन्दै स्थानीय तहका राम्रा र नराम्रा दुवै कार्यको जिम्मेवारी सवैको बराबर हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘कार्यका आधारमा ५५ प्रतिशत नगरपालिका वा गाउँपालिकाको प्रमुखले जिम्मा लिनुपर्छ भने ४५ प्रतिशतको जिम्मा अरु सवैले लिनुपर्छ ।’ त्यस्तै उहाँले स्थानीय तहमा कर्मचारी अभावका कारण काममा समस्या आएको स्वीकारोत्ति गर्नुभयो ।
संघिय सरकारले राष्ट्रिय गौरवका कार्यहरु गर्ने बताउँदै प्रदेश सरकार र स्थानीय तहल सानोसानो काम गर्ने संवैधानिक व्यवस्था रहेको बताउनुभयो । अन्तराष्ट्रिय रंगशाला, प्राणी उद्यान, सभागृह, राजमार्ग, सुरुङ मार्ग, रेलमार्ग, जलमार्ग, एक प्रदेशदेखि अर्को प्रदेशका विचमा गर्नुपर्ने विकास, स्मार्ट सिटी, ठूला ठूला विद्युत उत्पादन लगायतका विकास निर्माणका कार्यहरु स्थानीय तथा प्रदेश सरकारले नभई संघिय सरकारले गर्ने बताउनुभयो ।
सरकारको नीति तथा योजना अनुसार कार्य गर्न नसक्नु न्यायलय पनि दोषी रहेको बताउँदै सांसद बस्नेतले सरकारले विकास निर्माणका कार्यहरुलाई तिव्र गतिमा अघि बढाइरहेता पनि कतिपय विकास निर्माणका कार्यहरुमा न्यायलयले विकास विरोधी कार्य गरेको समेत बताउनुभयो ।
सांसद बस्नेतले दशैंलगत्तै सरकारले लोकप्रिय कार्यक्रमहरु ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ । सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पूर्नगठनको कुरा होस् या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरामा पनि ध्यान दिनेछ । प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ ।’
उहाँले राष्ट्र र राष्ट्रियताको पक्षमा वर्तमान सरकार कटिवद्ध रहेको बताउँदै भन्नुभयो ‘मुलुकको सार्वभौम अखण्डतामाथि नै चूनौति दिने गरेर एकातिर सीके राउतका गतिविधि र अर्कोतर्फ आतकंवादलाई नै समर्थन गर्ने ढंगले विप्लव समूहरुको गतिविधि भएका छन् । त्यस्ता अराजक प्रवृत्तिका गतिविधि र विखण्डनकारी गतिविधिलाई सरकारले नियन्त्रण गर्दा राज्यको आलोचना गर्ने मानवअधिकारवादी र घुमाईफिराई त्यसलाई समर्थन गर्ने न्यायालयको व्यवहार चाँही आज समिक्षाको विषय बनेको छ ।’
सांसद बस्नेतले अतिवादीहरुले अहिले वर्तमान सरकारको मुल्यांकन गरिरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘निर्मला पन्तको घट्नालाई जोडेर नेपालको शान्ति र सुरक्षालाई कमजोर ठान्नु गलत हो । सरकारले यो घट्नामा गम्भिर ध्यान दिएको छ । अनुसन्धान पनि जारी छ । सत्य तथ्य सहित दोषीलाई सरकारले कानुनी दायरमा ल्याएरै छोड्छ ।’










प्रतिक्रिया दिनुहोस्