सम्पादकीय

स्वास्थ्यमन्त्रीले आफ्नै शरीरका सात अंग दान गरे



भक्तपुर, १६ फागुन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् ।

स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्यमन्त्री थापा मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज दान गर्न मञ्जुरी दिने प्रथम नेपालीसमेत बन्न सफल भएका छन् । मिर्गौला दान गर्न मञ्जुरी दिने प्रथम नेपाली भने वरिष्ठ प्रत्यारोपणविद् डा. श्रेष्ठ आफैं हुन् ।

उक्त कार्यक्रममा ६० जनाले मृत्युपश्चात् मुटु, कलेजो, फोक्सो, मिर्गौला र प्यान्क्रियाज दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेको केन्द्रले जनाएको छ । त्यस्तै, स्वास्थ्य सेवा दिवसकै अवसरमा आयोजित निःशुल्क मिर्गौला जाँच शिविरमा दुई सय २२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

जसमा दुई सय २२ जनाकै पिसाब जाँच, एक सय ७५ जनाको रगत जाँच र ४० जनाको अल्ट्रासाउन्ड गरिएको थियो । उक्त शिविरमा २१ जनामा मिर्गौलाको रोग लागेको पाइएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिएको अन्नपूर्ण पोष्टमा समाचार छ ।