राजनीति

निजामती कर्मचारीलाई पद अनुसारको इमेल खाता



कात्तिक १२, काठमाडौ । नेपालको निजामती कर्मचारीलाई पद अनुसारको इमेल  प्रणाली सञ्चालन हुने भएको छ ।

विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका ०७५ अनुसार सबै सरकारी निकायहरुमा mail.nepal.gov.np नामको डोमेनबाट एकीकृत इमेल प्रणाली सञ्चालन हुनेछ ।  सञ्चार मन्त्रालयको प्रस्ताव अनुसार सरकारले आइतबार सो निर्देशिका राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ ।

विद्युतीय पत्राचारलाई मान्यता दिँदा सूचना, निर्णय, कागजात तथा अन्य विवरण आदान – प्रदान छिटो र सेवा प्रवाहमा सहजता ल्याउन सकिने सरकारको विश्वास छ ।

प्रत्येक निजामति कर्मचारीलाई सम्बन्धित पदाधिकारीको पहिलो नाम डट थर @nepal.gov.np को डोमेन नाममा इमेल खाता उपलब्ध हुनेछ ।

सरकारी निकायको संगठन संचरना अनुरुपका शाखा, सचिवालयको कामकाजको प्रयोजनका लागि पद अनुसारको इमेल खाता खोल्दा सम्बन्धित निकायगत डोमेन नाममा खोल्नुपर्ने निर्देशिकाको दफा ६ मा उल्लेख छ ।

‘पद अनुसारको इमेल खाता खोल्र्दा पदको छोटकरी नाम प्लस डट प्लस महाशाखाको छोटकरी नाम वा शाखाको छोटकरी नाम सम्बन्धित सरकारी निकायको इमेल डोमेन हुने गरी खोल्नुपर्दछ’, निर्देशिकाको दफा ६ को (क) मा उल्लेख छ । एक शाखामा एकभन्दा बढी एउटै पदमा भएको अवस्थामा नामको पछाडि अंक १, २, ३ राख्दै जानुपर्ने प्रावधान राखिएको छ ।