समाचार

मध्यपुर थिमीको निलबाराही सहित सय स्थान नयाँ पर्यटन गन्तब्य तोकियो



कात्तिक १७, काठमाडौँ । सरकारले मुलुकको पर्यटन प्रवर्द्धन तथा विकासका लागि भक्तपुरको मध्यपुर ठिमी स्थित निलबाराही सहित थप १ सय नयाँ गन्तव्य पहिचान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार १ सय नयाँ गन्तव्य पहिचान गरिएको घोषणा गरेको छ । पहिचान गरेका गन्तव्यलाई विकास गरी स्थापित बनाउन आवश्यक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्दै लैजाने सरकारको योजना छ ।

सरकारले नयाँ गन्तव्यलाई विकास र प्रवर्द्धन गर्दै स्थापित गन्तव्य बनाउने गरी काम अघि बढाएको छ । सरकारले ती गन्तव्यमा आवश्यक पूर्वाधार विकास गर्न चालू आर्थिक वर्ष विनियोजित बजेटबाट बाँडफाँट गरिने बताएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंको दहचोक, भक्तपुरको नीलबाराही मन्दिर, ललितपुरका नागदह पर्यटकीय क्षेत्र, गोदावरी फूलचोकी हाइकिङ, गोरखाको चुमभ्याली, लमजुङको काउलेपानी, तनहुँका तनहुँ कालिका सहिद तथा शान्ति पार्क र सिद्धगुफा भिमाद, कास्कीका मौजा होमस्टे र सिक्लेस पर्यटकीय क्षेत्र, मनाङको नार्फू ट्रेल, मुस्ताङको लोमान्थाङ दरबार र गुफा क्षेत्र, पर्वतका दुर्लुङ क्यानोइङ, केभिङ र होमस्टे तथा महाशिला, स्याङ्जाका सतौ–चण्डिकालिका क्षेत्र र आलमदेवी, बाग्लुङका भकुण्डे भैरवस्थान गाजाको दह र ढोरपाटा आरक्ष क्षेत्र पहिचना भएका छन् ।

त्यस्तै पाँचथरको गुरु फाल्गुनानन्द सर्किट, ताप्लेजुङको तिङबुङ पोखरी, इलामको फिक्कल–कन्याम–श्रीअन्तु सर्किट, तेह्रथुमको तीनजुरे–मिल्के–जलजले, ओखलढुंगाको थोलेदम्बा डाँडा, संखुवासभाको बालेश्वर ऐतिहासिक गुफा, धनकुटाको हलदे पटकेडाँडा ट्रेल, भोजपुरको ट्याम्के डाँडा (मुन्धुम ट्रेल), खोटाङको बराह पोखरी, सोलुखुम्बुको पाँचपोखरी, उदयपुरको उदयपुरगढी, झापाका सहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र र अर्जुनधारा पर्यटकीय क्षेत्र, मोरङको धनपालगडी पर्यटकीय क्षेत्र तथा सुनसरीको पीण्डेश्वर–दन्तकाली मार्ग नयाँ गन्तव्यमा पहिचान भएका छन् ।

सुर्खेतका जाजुरा दह र गिद्दे डाँडा, दैलेखको कोतगढी–पञ्चदेवल–बेलासपुर–महाबु, डोटीको बडिकेदार, रुकुम पश्चिमको बोतामकोट चित्री पाटन, बाजुराको कोल्टी–बुढीनन्दा–बिडमालिका पदमार्ग, बझाङको गोरखनाथ मन्दिर पैदलमार्ग, अछामको सूर्यकोट मस्तादेवी, दार्चुलाको मालिकार्जुन, बैतडीको सिद्धनाथ उदयदेव, डडेल्धुराको अमरगढी–उग्रतारा, कञ्चनपुरका रौटेला झम्केली व्रह्मदेवधाम र बन्दा ताल कोटिहोम र कैलालीको बर्दगोरिया मन्दिरधाम रहेका छन् ।

नवलपरासी पश्चिमको रामग्राम, रुपन्देहीका बाउन्नकोटी वनवाटिका र सैनामैना पर्यटकीय क्षेत्र, कपिलवस्तुका जगदिशपुर ताल र सागर ताल, पाल्पाको तालपोखरी रम्भादेवी मन्दिर पर्यटन क्षेत्र, अर्घाखाँचीको पाँणिनी तपोभूमि, गुल्मीका रेसुंगा तपोभूमि, रुरु क्षेत्र र भगवती मन्दिर पर्यटकीय क्षेत्र, रुकुम पूर्वको ढोरपाटन–मैकोट–सेफोक्सुन्डो पर्यटन मार्ग, रोल्पाको जलजला, प्युठानको रक गार्डेन, ओखरकोट डाँडा, झिमरुक, दाङको बरगबाबा धार्मिक पर्यटकीय स्थल, बाँकेको कम्मर शाह धार्मिक पर्यटकीय क्षेत्र, बर्दियाका ओमकेदारेश्वर धाम र शिवमन्दिर, सल्यानको कुभिन्डे दह, डोल्पाको त्रिपुरासुन्दरी, जुम्लाको डुडुल चैत्य, हुम्लाको लिमी उपत्यका, मुगुको रारा–सेफोक्सुन्डो ताल, कालिकोटको पाचाल झरना र जाजरकोटको खलंगा दरबार क्षेत्र छन् ।

त्यसैगरी धादिङका स्काइ ट्रेल र रानीझरना क्यानोइङ, चितवनका बीस हजारी ताल, सोमेश्वरगढी र पटियानी पर्यटकीय क्षेत्र तथा मकवानपुरको मकवानपुरगढी पहिचना भएका छन् ।

त्यस्तै नवलपरासी पूर्वको दाउन्नेदेवी तथा म्याग्दीका घोरेपानी पर्यटकीय क्षेत्र र रघु गंगा रुइसे डाँडादेखि धवलागिरि आइसफल पदमार्ग, सिरहाको सहलेस दरबार पर्यटन क्षेत्र, सर्लाहीको नाडी ताल, धनुषाको धनेश्वर महादेव पर्यटन विकास क्षेत्र, महोत्तरीको जलेश्वर मन्दिर, रौतहटका मरघर सिमसार क्षेत्र र पतौरा पुरातात्विक महादेव मन्दिर पर्यटकीय क्षेत्र, बाराको सिम्रौनगढ, पर्साको घडिअर्वा पोखरी, सप्तरीको छिन्नमस्ता, दोलखाको जिरी–शैलुङ पर्यटन पदमार्ग, सिन्धुलीको सिन्धुलीगढी, रामेछापको सुनकोसी ¥याफ्टिङ, काभ्रेका महाभारत ट्रेल र गुर्दुमडाँडा नारायणस्थान भूमेचुली पदमार्ग, सिन्धुपाल्चोकको पाँचपोखरी, नुवकोटका कल्चेडी–झिल्केघर–देवीघाट–भैरवी–दुप्चेश्वर सर्किट, रसुवाको तामाङ हेरिटेज ट्रेल छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त प्रत्येकलाई पर्यटन गन्तब्यलाई ५० लख रकम छुट्टाउने तयारी भइरहेको जानकारी गराउनुभयो ।