राजनीति

चारवर्ष भित्र भक्तपुर विकसित र समृद्ध हुन्छ : सांसद बस्नेत



कात्तिक २२, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी चार वर्ष भित्रमा भक्तपुरलाई विकसित तथा समृद्ध बनाउने उद्घोष गर्दै नेपाल मजदुर किसान पार्टीलाई अनावश्यक चलखेल नगर्न आग्रह गर्नुभएको छ ।

भक्तपुर जिल्लाको सूर्यविनायक वडा नं. ५ मा सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दिपावली, छठ, नेपाल सम्वत् ११३९ तथा ल्होछार पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकासको नाममा राजनीतिकरण गर्नु नुहुने भन्दै भक्तपुरलाई विभाजित नभई एकतावद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आगामी पाँच वर्ष भित्रमा भक्तपुरमा स्मार्ट सिटी निर्माण, सभागृह, प्राणी उद्यान केन्द्र, अन्तराष्ट्रिय रङ्गशाला, वीर अस्पताल लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु सफल बनाउँदै विकसित सहर बनाउने अव कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले भक्तपुर कसैको पेवा नभई सवै भक्तपुरवासी नागरिकको समान तथा साझा स्थल भएको बताउँदै भक्तपुरका जनताको विकास प्रतिको चाहनालाई कुनै पनि हालतमा कुण्ठित हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले आफ्नो कार्यकालमा जनताले आफुलाई दिएको जनमतलाई गौरान्वित महशुस भएको अनुभुति गराएरै छोड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले सफा, सुन्दर, पर्यटकिय, धार्मिक, सास्कृतिक, खानेपानी, ढल, सडक लगायतका विकासका पूर्वाधारहरु आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै हनुमन्ते नदी, मनोहरा, अरनीको राजमार्ग तथा सांस्कृतिक सम्पदाहरुको सफाईलाई तिव्र रुपमा अघि बढाइरहेको बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरका विभिन्न भ्यु टावर, होमस्टे, बन्जीजम्प स्थल, प्याराग्लाइडिङ् स्थलको निर्माण गरी पर्यटकिय स्थलको रुपमा विकास गर्दै आर्थिक बृद्धिलाई समेत उच्च बनाउने समेत बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सांसद शसीजंग थापाले जनताले दिएको जनमतलाई सम्मान गर्दै जनताको विकास प्रतिको अपेक्षालाई कुनै पनि हालतमा कुठाराघात हुन नदिने उद्घोष गर्नुभएको छ । प्रदेश सरकारले आफ्नो कार्यक्षेत्र भित्र पर्ने विकास निर्माणका कार्यहरु अघि बढाइरहेको बताउनुभयो ।