राजनीति

विकास र समृद्धिका साझा मुद्दामा सबै दल एकढिक्का हुनुपर्छ : वरिष्ठ नेता खनाल



कात्तिक २२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक स्थिरतासँगै देशको विकास र समृद्धिको लागि सम्पूर्ण राजनैतिक दलहरु एक ढिक्का हुनुपर्नेमा जोड दिनुभएको छ ।

रिपोर्टर्स क्लवले उहाँको निवासमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा नेता खनालले राष्ट्र निर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षकाबीच एकता र सहकार्य हुनुपर्ने बताउनुभएको छ । उहाँले स्थिर सरकार बनेसँगै केहि मात्रामा विकासका ढोकाहरु खोलीएको र त्यसलाई आगामी दिनमा सरकारले तिव्र गतिमा लानुपर्नेमा जोड दिनुभयो ।

जनताको सामाजिक र आर्थिक रुपान्तरणका लागि गरिबी पछौटेपन, परनिर्भरता न्यूनिकरण गर्न आवश्यक रहेको बताउँदै मुलुकको विकास तथा आर्थिक समृद्धि जनताको इच्छा भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

पाटीभित्रका गुट उपगुट अन्त्य गरी एकतावद्ध हुनुपर्ने खाँचो औँल्याउँदै उहाँले भन्नुभयो, नीति र विधिका आधारमा कम्युनिष्ट पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुन्छ, समूहको एकताबाट नै समाज पनि विकास हुन्छ, एक व्यक्ति सर्वज्ञ हुँदैन ।’

नेता खनालले कम्युनिस्ट पार्टी सामूहिक नेतृत्वमा मात्र अघि बढ्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘कम्युनिष्ट पार्टी भनेको सामूहिक नेतृत्वको आधारमा मात्रै पार्टी चल्नसक्छ । सिँगो समाज नै सामूहिक नेतृत्व भयो भने अगाडि बढ्न सक्छ, सामूहिक नेतृत्वको अभ्यास गर्न सकेनौं भने समाज अगाडि बढ्न सक्दैन । एउटा व्यक्तिमात्रै सर्वज्ञ हुनैसक्दैन । यो ज्ञानको युग हो । यस्तो अवस्थामा कुनै एक व्यक्तिले ज्ञानको ठेक्का लिनैसक्दैन ।’